पोखरा १७ का वडाध्यक्ष शाहीद्वारा कुकुर दर्ता र रेविज खोपमा सक्रियता

Share:

पोखरा, वडा नं. १७- वडाध्यक्ष राधिका शाही योगीले वडावासीलाई आफ्ना घरपालुवा कुकुरहरू वडा कार्यालयमा दर्ता गराई रेविजको सुई लगाएर सुरक्षित रहन आग्रह गरिन्। सनराइज टोल विकास संस्था, पोखरा १७ को दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष शाहीले कुकुर दर्ता शुल्क प्रतिकुकुर सय रुपैयाँ तोकिएको र दर्ता भएका कुकुरलाई वडाबाट निशुल्क रेविजको खोप लगाइने जानकारी दिइन्। पशुसेवा केन्द्र छोरेपाटनको समन्वयमा सो अभियान संचालन हुँदै आएको छ।

“शौखका लागि घरमा पालिएका कुकुरलाई सडकमा फोहोर गराउनेहरूमाथि कारबाही गरिनेछ,” वडाध्यक्ष शाहीले चेतावनी दिइन्। उनका अनुसार हालसम्म वडामा जम्मा ५० वटा मात्र कुकुर दर्ता भएका छन्।

गत आर्थिक वर्षमा सञ्चालन गरिएको कुकुर दर्ता अभियानबाट ५० वटा घरपालुवा कुकुर दर्ता भए पनि यस वर्ष भने थप दर्ता नभएको पशुसेवा केन्द्रले जनाएको छ। सीमित स्रोत साधनका बाबजुद वडाले विकासमा निरन्तरता दिइरहेको उल्लेख गर्दै शाहीले जनसंख्या र बसाइँसराइको चापका कारण सबै अपेक्षा पूरा गर्न कठिनाइ भएको बताइन्।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष प्राणनाथ पौडेलको अध्यक्षतामा भएको थियो। कार्यक्रममा वडासदस्य विक्रम गुरुङ, विष्णुमाया थापा, सनराइज आमा समूहकी सचिव गंगा प्रधान, सन्दीप पराजुली, अर्जुन बहादुर बराल, लक्ष्मी थापा, महेन्द्र कुँवर लगायतले टोलको विकास र समृद्धिमा संस्थाले खेलेको भूमिकाका विषयमा धारणा राखेका थिए।

कमेन्ट गर्नुहोस्
Share: