
पोखरा। नेपाल फोटो पत्रकार संघ (NPPA) कास्कीको आयोजनामा ‘तस्बिरमा पोखरा-९’ फोटो प्रदर्शनी आयोजना हुने भएको छ। पोखरा महानगरपालिका-९ को सहयोगमा असार १३ गते (शुक्रबार) महेन्द्रपुलस्थित झण्डापार्क नजिकको फल्चामा उक्त प्रदर्शनी गरिनेछ।
प्रदर्शनीमा पोखरा महानगरपालिका वडा नं. ९ सँग सम्बन्धित साथै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामयिक विषयवस्तु झल्काउने तस्बिरहरू राखिनेछन्। संघका अध्यक्ष राम गुरुङका अनुसार, फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धन गर्नु र ऐतिहासिकता उजागर गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
उनले पोखरामा क्रियाशील फोटो पत्रकारहरूको सीप र कलाको प्रदर्शनका लागि पनि यो कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे। फोटो हेरेर पर्यटकले पोखराका बारेमा छिटो र स्पष्ट जानकारी लिन सक्ने भएकाले वडा कार्यालयले यस कार्यक्रमलाई पूर्ण समर्थन दिएको वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए।
उनले थपे, “पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र हाल ‘पोखरा भ्रमण वर्ष २०२५’ सञ्चालन भइरहेकाले यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ।”
