
पोखरा । गण्डकी प्रदेशसभाको सोमबार बसेको बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सरकार र प्रदेश सभाको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विनियोजित बजेटको कार्यान्वयन, योजनाको प्रभावकारिता, तथा स्थानीय समन्वयका विषयमा विचार व्यक्त गरेका थिए।
यसक्रममा प्रदेशसभा सदस्य भीम बहादुर कार्कीले नेपाल पर्वतारोहण संघद्वारा पोखरा महानगरपालिका-१७, रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको बजेटको कार्यान्वयनबारे ध्यानाकर्षण गराए।
उनले स्थानीय सरकार, बासिन्दा र संग्रहालयबीच समन्वयको अभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र सोही संग्रहालय परिसरमा बोटानिकल गार्डेन निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे।
नेपाल पर्वतारोहण संघले १६ वटा हिमचुचुराको रोयल्टी र संग्रहालय अवलोकनकर्ताबाट टिकट बिक्रीमार्फत राम्रो आम्दानी गरिरहेको भन्दै, सो संस्थालाई थप आकर्षक बनाई पर्यटक प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले बजेट विनियोजन गरिएको भए पनि विवाद समाधान नगरी रकम खर्च गर्दा कार्यान्वयनमा थप जटिलता आउन सक्ने बताउँदै उहाँले सावधानी अपनाउन सुझाव दिए।
उहाँले संग्रहालयले कानुनी मान्यता प्राप्त गरी, स्थानीय जनप्रतिनिधि र बासिन्दाबीच समन्वय गर्दै बजेट कार्यान्वयनमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। संग्रहालयले सडक छेउको मापदण्डमा पर्ने जग्गामा स्थानीय सहयोगमा सौन्दर्यकरण गरिएका संरचनाको विरोध जनाउँदै फलामे पोल गाडेर तारबार गर्न थालेपछि स्थानीय र संग्रहालयबीच विवाद उत्पन्न भएको थियो।
सेती खोलातर्फ पूर्वतर्फ डिलभर र पश्चिमतर्फ तारबार गर्दा बाटो प्रयोग गर्ने पर्यटक, विद्यार्थी, जेष्ठ नागरिकलगायत पैदलयात्रीहरू दुर्घटनाको उच्च जोखिममा पर्ने भन्दै विभिन्न संघसंस्था र स्थानीय व्यक्तिहरूले तारबार नलगाउन र बाटोमा रहेको शौचालय हटाउन संग्रहालय तथा पोखरा महानगरपालिकामा सामूहिक ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा प्रदेशसभा सदस्यहरू सुदीपकुमार पौडेल, सितासुन्दा, कल्पना तिवारी, लिला बहादुर थापा मगरले पनि अन्य समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
