कास्कीका ४ पालिकाले समयमै ल्याए बजेट, मादी गाउँसभा विवादले रोकियो

Share:

पोखरा । कास्की जिल्लाका पाँच स्थानीय तहमध्ये चार वटाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति कार्यक्रमसहितको बजेट समयमै सार्वजनिक गरेका छन्। पोखरा महानगरपालिका, रूपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले निर्धारित म्यादभित्र बजेट सभामा प्रस्तुत गरेका हुन्। तर, मादी गाउँपालिकाले तोकिएको असार १० गतेभित्र बजेट ल्याउन सकेन। नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको विवादले गाउँसभा अनिश्चितकालका लागि स्थगन गरिएको हो। अध्यक्ष देवीजङ्ग गुरुङका अनुसार केही दिनभित्र सहमति कायम गरी नीति कार्यक्रम पारित र बजेट प्रस्तुत गरिनेछ।

माछापुच्छ्रे गाउँपालिकाको ६७ करोड ९९ लाखको बजेट

१७औं गाउँसभामा माछापुच्छ्रे गाउँपालिकाले कुल ६७ करोड ९९ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । पूर्वाधार विकासका लागि ११ करोड ५० लाख विनियोजन गरेको छ। यस्तै कार्यालय सञ्चालनमा १० करोड ८० लाख, सामाजिक विकासका लागि ४ करोड ९४ लाख, आर्थिक विकासका लागि २ करोड ४४ लाख संस्थागत सेवामा १ करोड ६४ लाख, वडागत बजेटतर्फ ५ करोड ४० लाख, सशर्त अनुदानका लागि २७ करोड ९६ लाख, फिर्ता गर्नुपर्ने रकममा २ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी कृषकलाई ढुवानीमा अनुदान, महिलाका लागि सीपमूलक कार्यक्रम, स्वास्थ्य र पर्यटन पूर्वाधारमा पनि बजेट विनियोजन गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाको ६५ करोड १५ लाखको बजेट

अन्नपूर्ण गाउँपालिकाले ६५ करोड १५ लाख ३४ हजारको बजेट सार्वजनिक गरेको छ । पूर्वाधार विकासका लागि १४ करोड ४३ लाख, सामाजिक विकासका लागि ३२ करोड ६२ लाख, आर्थिक विकासका लागि ४ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै अस्पतालमा विशेषज्ञसहितको सेवा प्रदान गर्न विशेष बजेट छुट्याइएको छ।

पोखरा महानगरको ८ अर्ब ३५ करोडको बजेट

देशकै सबैभन्दा ठूलो महानगर पोखराले ८ अर्ब ३५ करोड १२ लाखको बजेट प्रस्ताव गरेको छ। संघीय सशर्त अनुदानका लागि ३ अर्ब १३ करोड, आन्तरिक आम्दानीतर्फ ५ अर्ब २२ करोड रुपैयाँ रहेको छ। पूर्वाधार क्षेत्रमा २ अर्ब ३३ करोड, सामाजिक विकासका लागि ३८ करोड, आर्थिक विकासका लागि १८ करोड, वडा कार्यालयका लागि १ अर्ब, स्वास्थ्य क्षेत्रमा ३१ करोड, शिक्षामा १ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ।

रूपा गाउँपालिकाको ४८ करोड ५५ लाखको बजेट

रूपा गाउँपालिकाले ४८ करोड ५५ लाखको बजेट ल्याएको छ। चालु खर्चतर्फ ३३ करोड ३४ लाख तथा पुँजीगत खर्चतर्फ १५ करोड २० लाख विनियोजन गरेको हो। संघीय समानीकरण अनुदानका लागि ७ करोड ६५ लाख, राजस्व बाँडफाँटका लागि ७ करोड ३२ लाख, सशर्त अनुदानमा १८ करोड ७२ लाख, समपूरक अनुदानका लागि ५ करोड ७७ लाख, विशेष अनुदानतर्फ १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँट ७८ लाख ३७ हजार, गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख रहेको छ। बजेटको स्रोतमा गण्डकी प्रदेश सरकार समानीकरण अनुदानतर्फ ९३ लाख ४१ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम ४० लाख, प्राप्त हुँदा न्यून हुने रकम पाँच करोड ५३ लाख १४ हजार गाउँपालिकाको चालु आवको अल्या रकम तीन करोड ८९ लाख १४ हजार र चालु आवको लागी आन्तरिक स्रोत अनुमान एक करोड ६४ लाख बेहोरिने पालिकाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: