राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पोखरामा सुरु, एपिएफ र आर्मी सेमिफाइनल नजिक

Share:

पोखरा। पोखरामा आजदेखि पहिलो गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु भएको छ। गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा शुरु भएको प्रतियोगितामा समूह ‘ए’ बाट एपिएफ क्लब र समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलको नजिक पुगेका छन्।

पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा भएका खेलहरूमा एपिएफले समूह ‘ए’ अन्तर्गत गण्डकीलाई २२-६ र बागमतीलाई ३०-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गर्ने सम्भावना बलियो बनाएको हो। बागमतीले मधेश प्रदेशलाई ६-१ ले पराजित गरेको छ।

त्यस्तै, समूह ‘बी’ मा आर्मीले लुम्बिनीलाई २६-१३ र कोशीलाई ३७-८ ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। सोही समूहमा कर्णालीले लुम्बिनीलाई ६-४ गोलले हराएको छ।

प्रतियोगितामा जम्मा ८ टिम सहभागी छन्। समूह ‘ए’ मा एपिएफ, गण्डकी, बागमती र मधेश प्रदेश छन् भने समूह ‘बी’ मा आर्मी, लुम्बिनी, कोशी र कर्णाली प्रदेश रहेका छन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ५० हजार, तेस्रो हुनेले ३० हजार र चौथो स्थान प्राप्त गर्ने टोलीले २० हजार रुपैयाँ पुरस्कार पाउने गण्डकी प्रदेश ह्याण्डबल संघका कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए।

दक्षिण एशियाली ह्याण्डबल संघका उपाध्यक्ष तेज गुरुङले लामो समयपछि ह्याण्डबल प्रतियोगिता आयोजना हुनुलाई सकारात्मक संकेत भन्दै हर्ष व्यक्त गरे। उनले ओलम्पिक कमिटी र नेपाल सरकारबीचको विवादका कारण धेरै खेल संघहरू निष्क्रिय रहेको र त्यसले ह्याण्डबल जस्ता खेल प्रभावित भएको बताए।

प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले दशौं राष्ट्रिय खेलकुदले खेल क्षेत्रलाई निरुत्साहित गरेको बताए। यस्ता प्रतियोगिताले खेलप्रति रुचि बढाउने र माहोल निर्माण गर्नेमा सघाउ पुर्‍याउने उनको भनाइ थियो। प्रतियोगिता अन्तर्गत भोलि लिग चरणका बाँकी खेलहरू सम्पन्न हुने आयोजकले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: