
पोखरा। सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको पुनः सीमाङ्कनपश्चात् सीमा स्तम्भ (पिलर) गाड्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको संयुक्त पहलमा ताल घर क्षेत्रमा पिलर गाड्ने कार्य सुरु गरिएको हो।
जेठ १७ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत हालसम्म ३६० वटा सीमा स्तम्भ गाडिसकिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिएका छन्। बिहीबार फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रको पिलर गाड्ने कार्यको महानगर प्रमुख धनराज आचार्यले स्थलगत निरीक्षणसमेत गरेका थिए।
निरीक्षणका क्रममा उनले सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको संरक्षणका लागि महानगरपालिकाले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आवश्यक कार्यहरू गरिरहेको बताए। ताल क्षेत्रको सीमाङ्कनका लागि सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित गरिएको छ।
महानगरपालिकाको योजना अनुसार पहिलो चरणमा ताल घर क्षेत्रमा सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न गरिनेछ भने दोस्रो चरणमा अन्य आवश्यक काम सुरु गरिनेछ। फेवातालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलमा जम्मा १०५५ वटा पिलर गाडिनेछ। यो पहल पोखराको वातावरण, प्राकृतिक सम्पदा तथा सांस्कृतिक पहिचान संरक्षणका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण हुने विश्वास लिइएको छ।
