गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल: लिग चरण सकियो, सेमिफाइनल समीकरण तय

Share:

पोखरा। पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ अन्तर्गत लिग चरणका खेलहरू सम्पन्न भएका छन्। गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा, प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन र बुल्समेन क्लबको सहयोगमा जारी प्रतियोगितामा शुक्रबार सम्पन्न ६ खेलसँगै लिग चरण समाप्त भएको हो।

प्रतियोगिताबाट एपीएफ (APF) र त्रिभुवन आर्मी क्लब आ-आफ्नो समूहका विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। त्यस्तै गण्डकी प्रदेश र कोशी प्रदेश उपविजेता बन्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्।

समूह ‘ए’ मा गण्डकी प्रदेशले मधेश प्रदेशलाई १६-२ र बागमती प्रदेशलाई १०-३ गोलअन्तरले पराजित गर्‍यो। एपीएफले मधेश प्रदेशलाई एकपक्षीय खेलमा २२-० ले हरायो।

एपीएफ: ३ खेल, ३ जित, ९ अंक (समूह विजेता), गण्डकी प्रदेश: ३ खेल, २ जित, १ हार, ६ अंक (उपविजेता), बागमती प्रदेश: १ जित, २ हार, ३ अंक, मधेश प्रदेश: ० जित, ३ हार, ० अंक बनाउन सके ।

समूह ‘बी’ मा कोशी प्रदेशले कर्णालीलाई ३१-९ र लुम्बिनीलाई १०-२ ले पराजित गर्‍यो। त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई २२-४ ले हरायो। त्रिभुवन आर्मी: ३ खेल, ३ जित, ९ अंक (समूह विजेता), कोशी प्रदेश: २ जित, १ हार, ६ अंक (उपविजेता), कर्णाली प्रदेश: १ जित, २ हार, ३ अंक, लुम्बिनी प्रदेश: ० जित, ३ हार, ० अंक बनाउन सके ।

सेमिफाइनल खेलहरू

एपीएफ बनाम कोशी प्रदेश र गण्डकी प्रदेश बनाम त्रिभुवन आर्मी गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकका अनुसार सेमिफाइनल खेलपछि प्रतियोगिताको फाइनल खेल हुनेछ।

संघका कोषाध्यक्ष कृष्णसिंह बस्नेतका अनुसार प्रतियोगिताका विजेताले १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ५० हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुने टोलीले २० हजार सहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा कुल ८ टिम सहभागी छन्, जसमा विभिन्न सातवटै प्रदेशका साथै संस्थागत टोलीहरूको समेत सहभागिता छ।

कमेन्ट गर्नुहोस्
Share: