
पोखरा । पोखराको गुँदे ताल क्षेत्र, वडा नं. २६ मा आइतबार २०औँ रोपाइँ महोत्सव उत्साहपूर्वक सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को आयोजनामा भएको महोत्सवमा आन्तरिक तथा विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ आयोजित यस महोत्सवमा सहभागीहरूले हिलोमा रमाउँदै रोपाइँ, हिलो छ्यापाछ्याप, रस्साकस्सी, हिले दौड, रोपाइँ प्रतियोगिता, र हिलोमा माछा समाउने जस्ता परम्परागत खेलहरूमा उत्साहपूर्वक भाग लिएका थिए।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले असार १५ लाई कृषिमा विशेष महत्वको दिन भन्दै रोपाइँ महोत्सवजस्ता कार्यक्रमले कृषिप्रतिको आकर्षण बढाउने र अफ सिजनमा पनि पर्यटक भित्र्याउने विश्वास व्यक्त गरे।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार, यो महोत्सवले हराउँदै गएको परम्परागत कृषि प्रणालीको संरक्षणसँगै कृषि पर्यटन प्रवर्द्धन गर्न मद्दत गर्नेछ। यसले खेतीयोग्य जमिनलाई खेतीतर्फ आकर्षित गर्न, प्लटिङ नियन्त्रण गर्न र स्थानीय उत्पादनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
२०६१ सालदेखि निरन्तर रूपमा हुँदै आएको रोपाइँ महोत्सव पोखराको पर्यटकीय गतिविधिमा विविधता ल्याउने माध्यम बनेको छ। कृषिमा आधारित यस्तो सांस्कृतिक कार्यक्रमले अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाली ग्रामीण जीवनशैली र कृषिसंस्कृतिसँग नजिक हुन सघाउने आयोजकहरूको विश्वास छ।
