
पोखरा । पोखरास्थित राउण्ड फेवा भ्यू-फेवा हाईकिङ पदमार्गको सरसफाइ कार्य सम्पन्न गरिएको छ। ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा उक्त सरसफाइ कार्यक्रम नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा गरिएको हो।
हाल पोखरामा सञ्चालित पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड तथा पोटर गाइड तालिम अन्तर्गत तालिमका सहभागीहरूलाई प्रयोगात्मक अभ्यासस्वरूप पदमार्गको सरसफाइ, हाइकिङ तथा क्याम्पिङ कार्यमा सहभागी गराइएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो। सरसफाइ क्रममा संकलित फोहरलाई डुंगाको सहायताबाट व्यवस्थापन गरिएको थियो।
पदमार्गको महत्त्व
अध्यक्ष आचार्यका अनुसार, फेवातालको काखबाट माछापुच्छ्रे हिमालसहित पोखराको मनोरम दृश्य अवलोकन गर्न यो पदमार्ग उपयुक्त गन्तव्य हो। ड्यामसाइडदेखि रानीवन, मेवाखोला हुँदै मार्गीसम्मको यो एकदिने पदमार्गले पर्यटकहरूलाई छोटो दूरीको रोमाञ्चक अनुभव प्रदान गर्छ। टान गण्डकीले फेवा ताललाई केन्द्रमा राखी छोटो दूरीका हाईकिङ मार्गहरू प्रवर्द्धन गर्ने उद्देश्यले यो पदमार्गलाई प्राथमिकतामा राखेको हो।
संरचना विस्तार र प्रवर्द्धन
कार्यक्रमको समापन सत्रमा पोखरा महानगरपालिका-२२ का वडा अध्यक्ष हिमलाल बरालले यो पदमार्ग निर्माण सम्पन्न भएपछि फेवा तालको एक फन्को लगाउन सकिने जानकारी दिउ। आउँदो आर्थिक वर्षभित्र करिब १३ किलोमिटर लामो पदमार्ग निर्माण सम्पन्न गर्ने योजना रहेको पनि उनले बताए।
पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पदमार्ग सफाइलाई नियमित अभियानको रूपमा चलाउनुपर्ने आवश्यकता औंल्याउँदै, त्यसका लागि पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइडहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।
पर्यटन पेशाको सम्भावना
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा काम गर्न चाहनेका लागि यही पेशा भरपर्दो विकल्प बन्न सक्ने भन्दै, विदेश जानुभन्दा स्थानीय सम्भावनामा आधारित रोजगारी राम्रो हुने विचार व्यक्त गरे।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले तालिममा सिकिएका सीपहरूलाई व्यावहारिक रूपमा उतार्न सके प्रशिक्षार्थीहरूले सफलताको शिखर चुम्न सक्ने बताए।
कार्यक्रममा टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदी, द्वितीय उपाध्यक्ष मोहन सुवेदी, र कार्यसमिति सदस्य रेनुका कार्कीले पदमार्गको सम्भाव्यता र पर्यटनको सम्भावनामा धारणा राखेका थिए।
जेष्ठ २६ गतेदेखि सुरु भएको उक्त तालिममा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरी करीब ३५० जना प्रशिक्षार्थी सहभागी छन्।
