
गण्डकी । “पढ्नका लागि उमेरले छेक्दैन” भन्ने आदर्श प्रस्तुत गर्दै पोखरा १७ तल्लो विरुवा निवासी गोमा पराजुलीले आफू अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छन् ।
उनले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई लक्षित गर्दै अक्षयकोष स्थापना गरेका हुन् ।
गोमा फाउन्डेसनकी अध्यक्षसमेत रहनुभएकी पराजुलीले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक-अभिभावक संघ अध्यक्ष विक्रमबाबु भण्डारी र विद्यालयका प्रधानाध्यापक अर्जुन कडेललाई संयुक्त रूपमा हस्तान्तरण गरे।
पढ्ने अवसर नपाएको भन्दै ५३ वर्षको उमेरमा कक्षा १ मा भर्ना भई हाल कक्षा ७ सम्म अध्ययन गरिसक्नुभएकी पराजुलीले जन्मदिनको अवसरमा विद्यालयका ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री र चकलेट वितरण गरे।
उनले पछिल्लो समय जन्मदिनलगायतका अवसरमा गरिने अनावश्यक खर्च कटौती गरी सामुदायिक विद्यालयलाई सहयोग गर्ने प्रचलन बढिरहेको बताए।
त्यस्तै, विद्यालयका अन्य सहयोगीहरूले पनि उल्लेखनीय योगदान गरे । नगेन्द्र शर्मा भण्डारीले छोरा एलेक्स शर्मा भण्डारीको नाममा रु ५५ हजार ५ सय ५५ रुपैयाँ तथा शिक्षक अभिभावक संघ अध्यक्ष विक्रमबाबु भण्डारीले छोरा सुहार्द भण्डारीको नाममा रु २१ हजार २ सय २१ रुपैयाँ दृश्यम भिडियो हाउसले आफ्नो स्थापना दिवसको अवसरमा रु ६५ हजार बराबरको शैक्षिक सामग्री प्रदान गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङका अनुसार, हालसम्म विभिन्न संघ-संस्था र शिक्षाप्रेमीहरूबाट १० लाख रुपैयाँभन्दा बढीको अक्षयकोष स्थापना भइसकेको छ। सो कोषबाट प्राप्त व्याज रकम हरेक वर्ष छात्रवृत्तिको रूपमा वितरण गरिँदै आएको छ।
