
पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणीमा अवस्थित विश्वकै ठुलो शालिग्राम विगत एक महिनादेखि कालीगण्डकी नदीको उच्च बहावका कारण डुबानमा परेको छ। लगातारको वर्षासँगै कालीगण्डकीको सतह बढ्दा शालिग्रामसँगै आसपासका संरचनामा गम्भीर क्षति पुगेको छ।
शालिग्राम डुबानमा, दर्शन अवरुद्ध
शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार जेठको अन्तिम सातादेखि नै शालिग्राम डुबानमा परेको हो। शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थलसमेत पूर्ण रूपमा डुबानमा परेका छन्। नदीको बहाव अत्यधिक बढेका कारण शालिग्राम क्षेत्रमा कार्यरत पुजारी, पण्डित तथा अन्य सेवकहरू विस्थापित भएका छन्। नियमित पूजापाठ तथा दर्शन गर्न आउने भक्तजनहरू पनि शालिग्राम दर्शनबाट वञ्चित बनेका छन्।
तटबन्ध र ग्याबिन जाली पनि क्षतिग्रस्त
स्थानीय तिलक पराजुलीका अनुसार सेती खोलाको उच्च बहाव कालीगण्डकीमा मिसिँदा शिला परिक्रमा स्थल पूर्ण रूपमा क्षतविक्षत भएको छ। शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिन जालीसमेत पानीले पुरिएपछि सुरक्षाका लागि शालिग्राम क्षेत्रमा आवतजावत निषेध गरिएको छ।
बजार क्षेत्रमा डुबानको त्रास
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना अन्तर्गत रहेको बाँधका कारण पानीको बहाव असन्तुलित हुँदै आउँदा सेतीवेणी बजार क्षेत्रमा डुबानको खतरा बढेको हो। पर्वत, स्याङ्जा र गुल्मीको सीमाना जोड्ने यस क्षेत्रमा हाल झन्डै २ सय व्यापारी र सर्वसाधारण उच्च जोखिममा छन्।
गल्याङ नगरपालिका–५ का अध्यक्ष घनश्याम भट्टराईले गत वर्ष साउनमा आएको बाढीका कारण बजार क्षेत्रमा एक घर पूर्ण रूपमा भत्किएको र आधा दर्जन घर विस्थापित भएको स्मरण गराउँदै कालीगण्डकीको बहाव नियन्त्रण नगरेसम्म जोखिम यथावत् रहने चेतावनी दिए। उनका अनुसार, शालिग्राम क्षेत्रको दीर्घकालीन संरक्षणका लागि गुल्मीतर्फबाट नदीको बहाव परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको छ।
तीन पालिकाबीच समन्वयको माग
शालिग्रामको नजिक अवस्थित स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाबीच समन्वय गरी सेतीवेणी क्षेत्रको समग्र संरक्षण गर्नुपर्नेमा विहादी गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जोड दिएका छन्।
उनले भने, “शालिग्राम क्षेत्र धार्मिक, पर्यटकीय र सांस्कृतिक दृष्टिले अति महत्वपूर्ण छ। यसको संरक्षणमा सम्बन्धित सबै निकायले चासो दिनु जरुरी छ।”
