
पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पृथ्वीचोक बसपार्कका लागि छुट्याइएको सम्पूर्ण १४८ रोपनी जग्गामा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने दृढता व्यक्त गरेका छन्। पाँच दशकदेखि योजनामै सीमित रहेको र विभिन्न कारणले खुम्चिँदै गएको बसपार्क निर्माणलाई टुङ्गोमा पुर्याउने उनले बताए।
पोखरा महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मेयर आचार्यले भने, “बसपार्कका लागि सुरुमा अधिग्रहण गरिएको १४८ रोपनी जमिनमा अहिले २६ रोपनी मात्र बाँकी छ। जमिनमा सुकुम्वासी बस्नुभएको छ, उहाँहरूलाई उचित व्यवस्थापन गरेर पूरै क्षेत्रफलमा बसपार्क बन्छ। यसका लागि सबैको साथ र सहयोग चाहिन्छ।”
महानगरले निस्सा वितरण गरेका १९,१७६ भूमिहीनमध्ये करिब ४०० परिवार बसपार्क क्षेत्रमा रहेको उनले जानकारी दिए।
फिर्के खोला संरक्षण अभियान पुनः सुरु हुने
मेयर आचार्यले वर्षायाम सकिनेबित्तिकै फिर्के खोलाको अतिक्रमित क्षेत्र खाली गराउने अभियान पुनः सञ्चालन गरिने बताए। “यसअघि संरक्षणको काम अगाडि बढाउँदा अदालतले रोके पनि अहिले अघि बढ्न अनुमति प्राप्त भएको छ,” उनले भने, “फिर्केको मापदण्ड कार्यान्वयन गर्दै खोलाघर खाली गर्ने अभियान मनसुनपछि सुरु हुन्छ। हामी व्यक्तिको सम्पत्तिको संरक्षण गर्छौँ, तर खोला अतिक्रमण स्वीकार्य हुँदैन।”
विकासका लागि ‘मेसिन’ भएर काम गरेको दाबी
आफू पोखराको विकास र समृद्धिका लागि दिनमा १८ घण्टाभन्दा बढी काम गरिरहेको बताउँदै मेयर आचार्यले विभिन्न दातृ निकायबाट अर्बौँ रकम जुटाएर पूर्वाधार, पर्यटन र शहरी यातायात व्यवस्थापनमा काम भइरहेको जानकारी दिए। “हामीले पोखराका लागि मेसिन भएर काम गरेका छौँ, जाने बेलासम्म परिणाम देख्नुहुनेछ,” उनले भने।
कार्यक्रममा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले महानगरको विकासका लागि बलियो जग बनेकाले बाँकी दुई वर्षमा जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम हुने बताए।
नागरिकका गुनासा र सुझाव
सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले विभिन्न विषयमा ध्यानाकर्षण गराएका थिए। नागरिक समाजका रामबहादुर पौडेलले फेवातालको जलकुम्भी झार र फिर्के खोलाको अतिक्रमण तत्काल हटाउन माग गरे।
पोखरा-१६ का गोपाल गिरीले योजना तर्जुमा गर्दा स्थानीय सहभागिता सुनिश्चित गर्न र सेती नदीको मापदण्ड लागू गर्न जोड दिए।
यस्तै वडाहरूमा कर्मचारी र प्राविधिक जनशक्तिको अभाव,पशु बधशाला निर्माणमा ढिलाइ, खानेपानीको अनियमित आपूर्ति, सार्वजनिक जग्गामा बढ्दो अतिक्रमण, शहरी स्वास्थ्य केन्द्रहरूमा औषधीको अभाव र महानगरका वडाहरूमा असन्तुलित विकास भइरहेको स्थानीयको गुनासो छ।
कार्यक्रमको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जनताबाट प्राप्त सुझावहरूले काम गर्न दिशा निर्देश गर्ने जनाए।
