
पोखरा । पोखरा महानगरपालिका-१९, घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। विद्यालयले एक कार्यक्रम आयोजना गरी उनीहरूको लगन र सफलताको प्रशंसा गरेको हो।
यस वर्षको एसईई परीक्षामा विद्यालयबाट ३.७१ जीपीए ल्याएर अयुब सुनार र त्रिशांक पौडेल सर्वोत्कृष्ट भएका छन्। त्यसैगरी, प्रमिशा पौडेलले ३.६८ जीपीए प्राप्त गरेकी छन्।
विद्यालयका अनुसार, परीक्षामा सहभागी १८ विद्यार्थीमध्ये १० जनाले ३।२ देखि ३.६ जीपीए र ३ जनाले २.८ जीपीएभन्दा माथि अङ्क ल्याएका छन्, जसले गर्दा विद्यालयले ९० प्रतिशतभन्दा बढीको सफलता हात पारेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरे।
प्रमुख अतिथिको रूपमा बोल्दै उनले महेन्द्र माविको शैक्षिक प्रगति उदाहरणीय रहेको र वडाले विद्यालयलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पूर्ववडाध्यक्ष शोभा मोहन पौडेलले शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासले यो सफलता सम्भव भएको बताए।
उनले भने, “सामुदायिक विद्यालयका विद्यार्थीमा अनेक अभावका बीच पनि अघि बढ्ने क्षमता हुन्छ भन्ने कुरा यो नतिजाले प्रमाणित गरेको छ।”
विद्यालयका प्रधानाध्यापक वासुदेव पौडेलले विद्यार्थीको नतिजा सुधार्न विद्यालयले अपनाएका विशेष शिक्षण योजना र गतिविधिबारे जानकारी दिए। सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थी अयुब सुनारले विद्यालयको प्रभावकारी शिक्षण अभ्यासको प्रशंसा गरे।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष महेश्वर पौडेल, वडा शिक्षा समितिका सदस्य लेखनाथ लामिछाने, अभिभावक शोभा पौडेल लगायतले सफल विद्यार्थी तथा विद्यालय परिवारलाई बधाई दिए।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक नन्दराज दाहालले र स्वागत मन्तव्य शिक्षक शरद सापकोटाले राखेका थिए।

