
काठमाडौं। सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा कलाकारहरूले हस्ताक्षर अभियानमा सहभागिता जनाएका छन्। रास्वपाले सञ्चालन गरेको अभियानअन्तर्गत शुक्रबार काठमाडौंको वनस्थलीस्थित घडीघरमा पुगेर उनीहरूले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर गर्नेहरूमा कलाकार रामचन्द्र अधिकारी, राजाराम पौडेल, गायक खेम सेन्चुरी, अभिनेता तथा निर्देशक खगेन्द्र लामिछाने, निर्देशक अशोक शर्मा र दीपेन्द्र के खनाल लगायत छन्। यसअघि अभिनेता रमेश उप्रेती, विपिन अधिकारी लगायत अन्य कलाकारले पनि अभियानमा ऐक्यबद्धता जनाइसकेका छन्।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले गत असार ७ गते कारागारबाटै २० पृष्ठको एक अपिल जारी गर्दै आफ्नो पक्षमा हस्ताक्षर सङ्कलन गर्न आह्वान गरेका थिए। सोहीअनुरूप रास्वपाले देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।
