
रञ्जन अधिकारी पोखरा, २५ भदौ / कोरियन कार हुण्डाईको नयाँ मोडल एसयुभी क्रेटाको विक्री पोखरामा पनि सुरु भएको छ । गण्डकी तथा धौलागिरीको आधिकारीक विक्रेता एल.आई. मोटर्स प्रा. (लि.) पोखराबाट शुक्रबारदेखि विक्री शुरु गरिएको हो । नेपालमा शुक्रबारदेखि नै लक्ष्मी इन्टरकन्टिनेन्टलले यो कारको विक्री सुरु गरेको हो । पोखराको बुद्धचोक स्थित शोरुममा शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले एसयुभी क्रेटाको लञ्च गरे ।
कार्यकारी निर्देशक श्रेष्ठले क्रेटा विश्वस्तरीय उत्पादन रहेकाले यसको उपस्थितिसँगै नेपाली अटो बजार वृद्धि हुने अपेक्षा गरे । उनले उच्च मापदण्डमा आधारित यो गाडी गुणस्तरीय, टिकाउ तथा विश्वसनिय रहेको दाबी गर्दै नेपाली उपभोक्ताको आकांक्षा पुरा गर्ने बताए । ‘नयाँ पुस्ताको उपभोक्ताका लागि उच्चस्तरीय इन्जिनियरिङ र उच्च क्षमताको एसयुपी सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौं’ – श्रेष्ठले भने– ‘क्रेटा हुन्डाईको सबभन्दा नवीन र पृथक शैलीको सवारी हो जसलाई नयाँ युगको हुन्डाई भनेर परिभाषित गर्न सकिन्छ ।’
हुण्डाई मोटर्सको पछिल्लो भर्सन एसयुभी क्रेटा उत्कृष्ट डिजाइन, आकर्षक मोडल, बलियो र उच्च क्षमताको इन्जिन भएको दाबी गरिएको छ । क्रेटा गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध गराएको छ । १६ सय सिसीको पेट्रोल भेरियन्टको ३९ लाख ९६ हजार रुपैयाँदेखि ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।१४ सय तथा १६ सय सिसीको डिजेल इन्जिन भएको क्रेटा गाडीको मूल्य भने ४३ लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म तोकिएको छ ।
हुण्डाइको यो गाडी ७ रङमा उपलब्ध छ । कम्पनीले नेपाली बजारमा सबै रङका गाडी भित्राएको बताएको छ । यो गाडीले उपभोक्ताको आराम र सुरक्षामा कुनै सम्झौता नगरेको र कम्पनीले यसलाई स्टाइलिस, प्रिमियम र पावरफुल ग्लोबल एसयुभी गाडी भएको जनाएको छ । कम्पनीले गाडीको बाहिरी आवरणलाई पनि थप बलियो बनाएको जनाएको छ । गाडीको पछाडिको भागमा पनि धेरै सामान अटाउन सकिन्छ । यस्तै यसमा कुल ग्लोब बक्स, हिल एसिस्ट कन्ट्रोल, रेयर पार्किङ एसिस्ट विथ डाइनामिक गाइडलाइन्स (रिभर्स पार्किङ क्यामेरा) जस्ता सुविधा राखिएको छ । कम्पनीका अनुसार यो गाडीमा यात्रा गर्दा बाहिरका अन्य आवाज र हावाको कुनै अवरोध झेल्नु पर्दैन । गाडीको बाहिरी भागमा क्रोम जडान गरिएको छ । सार्वजनिक समारोहमा सेल्स एण्ड अपरेशन ईञ्चार्ज भिमसिंह खत्री लगायतले बोलेका थिए ।
