पोखराको पर्यटकीय गन्तव्यमा हाईकिङ कार्यक्रम, आन्तरिक पर्यटनमा बढ्दो चासो

Share:

पोखरा। पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यसहित हाईकर्स क्लब नेपाल ले असारको अन्तिम शनिबार ६०औं हाइकिङ श्रृङ्खला सम्पन्न गरेको छ। यसपटकको हाइकिङ कार्यक्रम पोखरा महानगरपालिका वडा नं. २२ स्थित कालाबाङ घरेडीदेखि तारेभिर हुँदै बुद्धपार्कसम्म सञ्चालन गरिएको थियो।

“स्वास्थ्य र पर्यटनका लागि हाइकिङ” भन्ने मूल नाराका साथ क्लबले विगत ६ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ। यसपटकको यात्रामा कालाबाङ घरेडीबाट सुरु भई भूम्दी, तारेभिर, चिसापानी हुँदै पुनः भूम्दीबाट फर्किएर बुद्धपार्कमा समापन गरिएको अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए।

बुद्धपार्कमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। त्यहाँ स्थानीयले साना पसल सञ्चालन गरी आगन्तुकहरूलाई स्थानीय उत्पादन, खाजा तथा पानीको सेवा प्रदान गर्दै आएका छन्।

शनिबार बिहान ७ बजे पोखरा-९, न्यूरोड दरबारथोकबाट सिटी बसमार्फत २५ जना सहभागी कालाबाङ घरेडी पुगेका थिए। सहभागीहरूमा गृहिणी, व्यवसायी, संघसंस्थाका प्रतिनिधि, पत्रकारहरू समेत थिए। तारेभिरका स्थानीय व्यवसायी तथा असिम खाजा घर एण्ड किराना पसलका सञ्चालक राजु रानाले समूहलाई स्वागत गर्दै खानपानको व्यवस्था गरेका थिए।

कार्यक्रममा पहिलो पटक सहभागी भएका छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले हाइकिङले व्यक्ति स्वस्थ राख्न मद्दत गर्ने बताए।

हाईकर्स क्लब नेपाल कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता सामाजिक संस्था हो। क्लबमा सदस्यता लिन सामान्य सदस्यका लागि पाँच सय र आजीवन सदस्यका लागि तीन हजार रुपैयाँ शुल्क लाग्ने अध्यक्ष रानाभाटले जानकारी गराए। यद्यपि हाइकिङ कार्यक्रममा सहभागी हुन सदस्य हुनु अनिवार्य छैन।

कमेन्ट गर्नुहोस्
Share: