जनताको खर्च गर्ने क्षमता बढाउन सकेनौं: मुख्यमन्त्री पाण्डे

Share:

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशमा २०४६ सालपछि ठूलो राजनीतिक परिवर्तन भए पनि जनताको खर्च गर्ने क्षमता (पर्चेजिङ क्यापेसिटी) अझै उल्लेखनीय रूपमा वृद्धि हुन नसकेको बताएका छन्।

संसदीय पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनमा आइतबार बोल्दै मुख्यमन्त्री पाण्डेले गणतन्त्रपछि देशले भौतिक, सामाजिक र संरचनात्मक रुपमा प्रगति गरे पनि जनताको आम्दानी अपेक्षित दरमा नबढेको स्वीकार गरे।

“घरमा सडक, बिजुली, विद्यालय र स्वास्थ्यचौकी पुगे पनि जनताको जीवनस्तर सुधारिनेगरी खर्च गर्ने क्षमता बढ्न सकेको छैन,” उनले भने, “यसले अझ नीतिगत सुधार र आर्थिक वृद्धिको खाँचो देखाउँछ।”

मुख्यमन्त्री पाण्डेले सत्यमाथि आधारित पत्रकारितालाई लोकतन्त्र र संघीयता सुदृढ गर्ने मुख्य माध्यमको रूपमा व्याख्या गर्दै सत्य र प्रमाणसहित सत्तालाई प्रश्न गर्न पत्रकारहरूलाई आग्रह गरे।

“सामाजिक सञ्जालमा लेखिएका विचार र समाचार माध्यमबाट सम्प्रेषित खबरबीच ठूलो भिन्नता छ,” उनले भने, “पत्रकारिताको नाममा नक्कली अभ्यासले पेशागत पत्रकारितामाथि चुनौती बढाएको छ।”

उनले पत्रकारितालाई राज्यको चौथो अंग भन्दै तथ्य, सन्तुलन र सकारात्मक चेतनाका आधारमा खबर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

“पत्रकारले तथ्यमा आधारित सकारात्मकता दिन नसके संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनशंका पैदा हुन्छ,” उनले चेतावनी दिए, “सूचना प्रवाह सजिलो भएको छ, तर सत्य र असत्य छुट्याउने जिम्मेवारी अझै पत्रकारकै काँधमा छ।”

कार्यक्रममा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले समाचारको प्रस्तुतिका कोणले जनमति निर्माणमा ठूलो प्रभाव पार्ने भन्दै पत्रकारितामा गहिरो अनुसन्धान र आत्मसमीक्षा आवश्यक रहेको बताए।

सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचालले पत्रकारिता बौद्धिक अभ्यास मात्र नभई सामाजिक उत्तरदायित्व पनि भएको बताइन्। उनले सकारात्मक विषय उजागर गर्दै नकारात्मक पक्षमा विश्लेषण र सुझाव दिनुपर्नेमा जोड दिइन्। राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले पत्रकारिता सत्य, सन्तुलन र विश्वसनीयतामा आधारित हुनुपर्ने बताए।

“पत्रकारिता कुनै पार्टी वा व्यक्तिको स्वार्थ पूर्तिको हतियार बन्नु हुँदैन,” उनले भने, “हजारौं सैनिकभन्दा इमानदार पत्रकार शक्तिशाली हुन्छ भन्ने नेपोलियनको भनाइ आज पनि सान्दर्भिक छ।”

संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष भरत कोइरालाले पत्रकारहरूले सधैं सत्तालाई जनताको आवाजका माध्यमबाट प्रश्न गरिरहेको बताए। मञ्चले संघीयताको मर्मअनुरूप काम गरिरहेको उनले जानकारी दिए। कार्यक्रमको सञ्चालन कोषाध्यक्ष उमा आलेले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: