पोखरामा सेती नदीमाथिको मितेरी पुल सञ्चालनमा, तीन सय घरधुरी लाभान्वित

Share:

पोखरा। पोखरा महानगरपालिकाको वडा नं. १७ सितापाईला र वडा नं. १५ पटनेरीलाई जोड्ने सेती नदीमाथिको मितेरी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागितामा कुल २२ लाख १४ हजार ६४५ रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो।

१८ मिटर लामो र डेढ मिटर चौडा यो ट्रस्ट ब्रिज निर्माण भएसँगै पटनेरीका करिब तीन सय घरधुरीलाई आवतजावतमा सहज भएको छ। पुलले स्थानीय जानकी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रत्यक्ष राहत पुगेको छ।

गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्कीले आज एक समारोहका बीच पुलको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै उनले पुल आकारमा सानो भए पनि सुविधाको हिसाबले स्थानीयका लागि निकै महत्त्वपूर्ण रहेको बताए। प्रदेश सरकार जनताका वास्तविक आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणमा जुटेको उनको भनाइ थियो।

कार्यक्रममा पोखरा-१७ की वडाध्यक्ष राधिका शाही योगी र वडा नं. १५ का वडाध्यक्ष तोरण बानियाँले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै वडाको विकासमा लागिपरेको बताए। उनीहरूले यो पुलले स्थानीय बासिन्दाका साथै ऐतिहासिक माघे सङ्क्रान्ति मेला भर्न आउने दर्शनार्थी र नदीमा स्नान गर्ने भक्तजनलाई समेत सुविधा पुग्ने विश्वास व्यक्त गरे।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मदन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, जानकी मावि व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष नारायण भण्डारी, सचिव विक्रमबाबु भण्डारी लगायतले पुल निर्माणको आवश्यकता र महत्वबारे प्रकाश पारेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: