
पोखरा। आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले कुल ६ अर्ब ८ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशत वृद्धि हो।
गत आर्थिक वर्ष २०७९/८० मा कार्यालयले ५ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। हालै सम्पन्न आर्थिक वर्षको लागि कार्यालयको वार्षिक लक्ष्य ७ अर्ब ७ करोड १७ लाख रुपैयाँ थियो, जसको करिब ८६ प्रतिशत राजस्व संकलन गरिएको हो।
विवरण अनुसार, आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व कार्यालय पोखराले
आयकरतर्फ ४ अर्ब रुपैयाँ, मूल्य अभिवृद्धि कर (VAT) तर्फ: १ अर्ब ५८ करोड ६ लाख रुपैयाँ, अन्तः शुल्कतर्फ: ५० करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।
प्रमुख कर अधिकृत शिव शर्माका अनुसार, सहकारी संस्थाहरूमा देखिएको समस्या तथा आर्थिक गतिशीलतामा आएको सुस्तताका कारण लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकिए पनि अघिल्लो वर्षको तुलनामा यो वृद्धि उत्साहजनक छ।
करदाता सहायता कक्ष सञ्चालनमा
करदातालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनदेखि आन्तरिक राजस्व कार्यालय पोखराको परिसरमा करदाता सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। उक्त सहायता कक्षको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एक कार्यक्रमका बीच गरेका हुन्।
यस कक्षको स्थापना पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ तथा जर्मन सरकारको स्वामित्वमा रहेको GIZ को सहयोगमा गरिएको हो। सहायता कक्ष सञ्चालनमा आएपछि करदाताहरूलाई सेवा प्रवाहमा अझ सहजता र पारदर्शिता हुने अपेक्षा गरिएको छ।
हाल पोखरामा व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या करिब ३० हजार रहेको छ। यसमध्ये १२ हजार ५ सय करदाता मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता छन् भने व्यक्तिगत प्यान लिनेको संख्या २ लाख १० हजार पुगेको छ।
