
पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमद्भगवद् चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ। कार्यक्रमको पाँचौं दिनसम्म आइपुग्दा श्रद्धालुहरूको आकर्षण उल्लेखनीय देखिएको छ।
सोमबार, श्रीमद्भगवद् प्रवचनको छैठौं दिन, मन्दिर परिसरमै निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिने भएको छ। महिला विकासका लागि समाजको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालन हुने उक्त शिविरमा विशेषगरी मधुमेह (सुगर) र हृदयसम्बन्धी परीक्षणहरू गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए।
कथा प्रवचनमा विभिन्न विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहँदै आएको छ। आइतबारको कार्यक्रमलाई सम्वोधन गर्न गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसी मन्दिरमा उपस्थित भएका थिए ।
उनले धार्मिक सत्सङ्ग कार्यक्रमले समाजमा हराउँदै गएको नैतिक शिक्षालाई पुनः सजीव बनाउने भूमिका खेलेको बताउँदै सत्सङ्गले जीवन बुझ्न र सही मार्गमा अग्रसर हुन सहयोग पुर्याउने धारणा व्यक्त गरे।
यसै अवसरमा बृन्दावन धाम, पोखरा-२७ डाँडानाकका प्रमुख विष्णु वशिष्ठ महाराजले सम्पूर्ण भक्तजनहरूलाई रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा भइरहेको श्रीमद्भगवद् चर्चा तथा श्रीकृष्ण कथा प्रवचनमा सहभागी हुन आग्रह गरे।
उनले सत्सङ्गमा बिना निमन्त्रण पनि जान सकिने र त्यहाँको कथा श्रवणले सुख, शान्ति र आत्मिक आनन्द प्रदान गर्ने बताए।
श्रीमद्भगवद् चर्चा कार्यक्रमअन्तर्गत सोमवार हुने निशुल्क स्वास्थ्य शिविरमा जो–कोहीले सहभागी भई लाभ लिन सक्ने समिति सचिव लक्ष्मण बरालले जानकारी दिए।
साथै, कार्यक्रमका प्रत्येक दिन साध्वी उर्वशी माताजीको मुखारविन्दबाट संगीतमय कथा प्रवचन सञ्चालन हुँदै आएको छ। सोमबारको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। ८ का अध्यक्ष रुद्रनाथ बरालको विशेष उपस्थिति रहने सचिव बरालले बताए।
