एक वर्षमा ६३ पटक अवरुद्ध भयो दाउन्ने सडकखण्ड

Share:

नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ मा पर्ने दाउन्ने क्षेत्र पछिल्लो एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दघाट सुस्तापूर्वका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म उक्त सडक पूर्ण वा आंशिक रूपमा बारम्बार अवरुद्ध भयो।

प्रमुख जनक बन्जाराका अनुसार अधिकांश अवरोध भारी वर्षासँगै आएको पहिरो तथा माटोले सडक ढाकिएको कारणले भएको हो। त्यस्तै सडक मर्मतका क्रममा प्रयोग भएका ठूला उपकरण तथा बिग्रिएका ट्रकका कारण पनि घण्टौँसम्म सवारी आवागमन ठप्प हुने गरेको थियो।

विशेषगरी विश्वकर्मा मन्दिर, घ्युखोला र त्रियासी मोड क्षेत्रहरूमा सडक बारम्बार अवरुद्ध हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ। दाउन्ने पहाडमा सडक विस्तारको लागि सुरु गरिएको भित्तो कटान कार्यपछि सडक अवरुद्ध हुने क्रम अझै बढेको हो। जम्मा १४ किलोमिटर दूरी रहेको यस खण्डमा गत आर्थिक वर्षमा विगतको तुलनामा बढी पटक अवरोध भएको बताइएको छ।

“वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटानका कारण, र घाम लागेका दिनमा धुलो र खाल्डाखुल्डीले गर्दा दाउन्ने सधैँजसो समस्याग्रस्त हुन्छ,” प्रमुख बन्जाराले भने । २०७९ पुस २६ गते विनयी त्रिवेणी-१ स्थित विनयी खोलाको पुल भत्किएपछि थप समस्या देखिएको थियो। अस्थायी डाइभर्सन पटकपटक खोलाले बगाउँदा यातायात नियमित प्रभावित हुँदै आएको थियो। हाल सो खोलामा नयाँ पुल निर्माण भई २०८२ असार १९ गतेदेखि सञ्चालनमा आएपछि समस्या केही समाधान भएको छ।

दाउन्ने सडक विस्तारका लागि गत चैत २७ देखि ३१ गतेसम्म दिनको ११ बजेबाट ३ बजेसम्म, र वैशाख महिनाभर राति ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएर काम गरिएको थियो। हाल दाउन्ने खण्डमा पर्खाल निर्माण, कल्भर्ट तथा ढलानको काम भइरहेको सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए।

नारायणगढ-बुटवल सडकखण्डको ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमा बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र जोखिम क्षेत्र मानिने दाउन्ने खण्डमा १४ किलोमिटर तीन लेनको सडक विस्तारको काम भइरहेको छ।

१७ अर्ब लागतमा निर्माण भइरहेको उक्त सडकको जिम्मा लिएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ। हाल साउन मसान्तभित्र काम सम्पन्न गर्ने समयसीमा तोकिएको छ।

कमेन्ट गर्नुहोस्
Share: