काठमाडौंमा मध्यरातदेखि वर्षा

Share:

काठमाडौँ उपत्यकामा अहिले (मंगलबार बिहान) पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा मध्यरातदेखि नै हल्का वर्षा भइरहेको हो।

‘उपत्यकाका सबै स्थानमा त होइन’, उनले भने, ‘केही स्थान अर्थात् आधाजसो ठाउँमा हल्का वर्षा भइरहेको छ।’ उनका अनुसार यतिबेला सन्धुपाल्चोक, नुवाकोट, झापा, ताप्लेजुङ, संखुवासभा, तनहुँ, प्युठानलगायत जिल्लामा पनि वर्षा भइरहेको छ।

‘पानी पार्ने प्रणाली दक्षिण-पश्चिम सरिरहेको छ’, मौसमविद् अधिकारीले भने, ‘त्यसैले अब १/२ घण्टापछि काठमाडौँ उपत्यकामा वर्षा कम हुँदै मौसम सुधारतिर जाने देखिन्छ।’

मौसम महाशाखाले पनि मंगलबार बिहान ५:२० बजे सूचना जारी गर्दै भनेको छ, ‘गएको १२ घण्टामा कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पानी परेको छ।

सबैभन्दा बढी पानी सिन्धुपाल्चोक जिल्ला (५०-५५ मि.मि.) तथा मनाङ जिल्ला (४७ मि.मि.) मा परेको देखिन्छ। पानी पार्ने बादल बिस्तारै दक्षिण-पश्चिम सरिरहेकाले हालका लागि ती स्थानमा परेको पानी कम हुँदै जाने देखिन्छ।’

कमेन्ट गर्नुहोस्
Share: