
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक साताको चीन भ्रमण सम्पन्न गरी आज पोखरा फर्किएका छन्। नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी भई फर्किएका मुख्यमन्त्री पाण्डेले भ्रमणलाई “उपलब्धिमूलक” बताएका छन्।
भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टी (CPC) का महासचिव महामहिम ध्वलन श्जगलनवगलसँग शिष्टाचार भेट गरेका थिए। उक्त भेटमा गण्डकी प्रदेश र तिब्बत जोड्ने कोरला नाका नियमित सञ्चालन गर्दै व्यापार र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव राखिएको थियो।
मुख्यमन्त्रीले मानसरोवर यात्रामा सहजीकरण, चीनका प्रमुख शहरहरुदेखि काठमाडौं-पोखरासम्म सिधा उडानको व्यवस्था, भिसा तथा प्रवेश पास प्रणालीमा सुधार, र दुई क्षेत्रबीचको लगानी प्रवर्द्धनका लागि कर छुट लगायत विषयमा स्पष्ट धारणा राखेका थिए। पोखराबाट ल्हासासम्म पर्यटन प्रवाहलाई सहज बनाउने र दीर्घकालीन लगानीकर्तालाई आकर्षित गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीको भनाइ थियो।
साथै, मुख्यमन्त्रीले सिपिसीका लिन्जी नगर समितिका पार्टी सचिव Ao Liuquan र सो नगरका मेयर द्यबतबसँग छुट्टाछुट्टै भेट गरेका थिए। उक्त भेटमा पोखरा र लिन्जीबीच पर्यटन, खेलकुद र व्यापारमा सहकार्य विस्तार गर्ने विषयमा गहिरो छलफल भएको जनाइएको छ।
महामहिम ध्वलन श्जगलनवगलले गण्डकी सरकारद्वारा कोरला नाका सञ्चालनमा देखाइएको सक्रियता सराहनीय रहेको उल्लेख गर्दै, यसलाई तिब्बत सरकारद्वारा सकारात्मक रूपले लिइएको र सहकार्यको आधार तयार भएको प्रतिक्रिया दिएका छन्।
तिब्बत सरकारसँग भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिइने र सम्भावनाहरुको पहिचान गरी रणनीतिक साझेदारी निर्माण गरिने प्रदेश सरकारको स्पष्ट योजना रहेको छ।
मुख्यमन्त्री पाण्डेले भने, “चीन भ्रमणले गण्डकी प्रदेश र तिब्बतबीचको सम्बन्ध अझ प्रगाढ बनाउने दिशामा नयाँ सम्भावनाहरू खोल्नेछ। यसले व्यापार, पर्यटन, पूर्वाधार र लगानी क्षेत्रमा गहिरो सहकार्यको ढोका खोल्नेछ।” प्रदेश सरकारका अनुसार भ्रमण सफल र उपलब्धिमूलक रहँदै गण्डकी प्रदेश र तिब्बत सरकारबीच सहकार्यलाई निरन्तरता दिने गम्भीर समझदारीमा पुगेको छ।
