गण्डकी प्रदेशमा डेंगी संक्रमण बढ्दो, आधाभन्दा बढी बिरामी पोखरामै

Share:

पोखरा । गण्डकी प्रदेशमा गत पुसदेखि हालसम्म ६०९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। वर्षायाम सुरु भएसँगै संक्रमणको दर उच्च हुँदै गएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार जेठ महिनामा १६९ जनामा डेंगी संक्रमण देखिएको थियो भने असारयता मात्रै १८५ जना नयाँ संक्रमित फेला परेका छन्। सबैभन्दा धेरै संक्रमण कास्कीमा देखिएको छ जहाँ ३०७ जना संक्रमित छन्। तीमध्ये १०३ जना पोखरा महानगरपालिकाभित्रका हुन्।

जिल्लागत विवरण हेर्दा कास्कीमा ३०७ जना तनहुँमा १०१, लमजुङमा ७७, गोरखामा ४६, स्याङ्जामा २८, बागलुङमा १९, पर्वतमा १७, म्याग्दीमा १०, नवलपुरमा ४, मुस्ताङ र मनाङमा भने हालसम्म डेंगीका बिरामी फेला परेका छैनन्।

स्वास्थ्यकर्मीहरूले साउनदेखि कात्तिकसम्म डेंगीको जोखिम उच्च रहने भन्दै संक्रमण अझै बढ्न सक्ने चेतावनी दिएका छन्। गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेंगी नियन्त्रण तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।

“डेंगीलाई सामान्य रूपमा लिन हुँदैन,” मन्त्री पाठकले भने, “संक्रमण जटिल बन्दा ज्यानसमेत जाने जोखिम रहन्छ।”

पोखरा ‘हटस्पट’

गत वर्ष पनि पोखरा महानगर डेंगीको हटस्पट बनेको थियो। त्यसबेला ८ हजार ६ सयभन्दा बढी संक्रमित फेला परेका थिए भने ३ जनाको मृत्यु भएको थियो। भदौको पहिलो सातादेखि असोजको पहिलो सातासम्म संक्रमण दर ६ गुणाले बढेको थियो। यस वर्ष संक्रमण नफैलियोस् भनेर महानगरका विभिन्न वडाहरूमा डेंगी नियन्त्रण अभियान सञ्चालन भइरहेको छ। समुदायस्तरमै लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने र जनचेतना अभिवृद्धिका कार्यक्रमहरू चलाइएका छन्।

रोकथामका उपाय

धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख चिकित्सक डा। किरण तिवारीका अनुसार डेंगी फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे विशेषगरी सफा र जमेको पानीमा फुल पार्ने गर्दछ।
“पुराना टायर, ड्रम, भाँडाकुँडा, खाल्डाखुल्डी आदि स्थानमा पानी जम्न नदिनु नै प्रमुख उपाय हो,” उनले भने।

उनका अनुसार डेंगी संक्रमणका मुख्य लक्षणहरूमा उच्च ज्वरो, रक्तस्राव, टाउको र शरीर दुख्ने समस्या देखिन्छन्। संक्रमणको आशंका भएमा तुरुन्त परीक्षण गराई उपचार सुरु गर्नुपर्ने उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: