
पोखरा । पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणसहित निर्मित ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ को भव्य उद्घाटन भएको छ। अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेकी हुन्।
समारोहमा मन्त्री देउवाले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रवर्द्धन र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरूले देशको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसनीय भएको उल्लेख गर्दै, देशमै अवसर खोज्न र त्यसमा लाग्नुपर्ने आवश्यकता औंल्याइन्।
“अहिलेको पुस्ता व्यवसायमा लागिरहेको देख्दा खुशी लाग्छ। विदेशमा जस्तो मेहनत यहीँ पनि गर्यो भने थुप्रै सम्भावना छन्,” मन्त्री देउवाले भनिन्। “सस्टेनेबल टुरिजमको अवधारणा आत्मसात गर्दै बगैँचाले उदाहरणीय काम गरेको छ। यसले पोखरामात्र होइन, सम्पूर्ण मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउनेछ।”
उनका अनुसार पछिल्लो केही महिनामा सरकारले लगानीमैत्री वातावरण बनाउन महत्त्वपूर्ण पहलहरू अघि बढाएको छ। पर्यटनलगायत अन्य क्षेत्रको दीर्घकालीन प्रगतिका लागि यस्तो वातावरण निरन्तर विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्।
बहुआयामिक योगदानको अपेक्षा
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बगैँचामा भएको लगानीले पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहुआयामिक योगदान दिने विश्वास व्यक्त गरे। अंशुभरा ग्रुपका अध्यक्ष तथा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बगैँचालाई व्यावसायिक सफलताको मात्र नभई सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको उदाहरणीय मोडलको रूपमा अघि बढाइएको बताए।
उनले पोखराको दीर्घकालीन पर्यटन विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकाको प्रभावकारी सञ्चालन अपरिहार्य रहेको उल्लेख गर्दै, मन्त्री देउवामार्फत भारत, चीनलगायत देशहरूबाट सीधा उडान र द्विपक्षीय सहकार्यका लागि पहल गर्न आग्रह गरे।
हरित विश्रामस्थलको अवधारणा
अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक तथा रिसोर्ट सञ्चालक सौगात थापाले बगैँचालाई सहरभित्रको हरित विश्रामस्थलको रूपमा विकास गर्न खोजिएको जानकारी दिए। “यहाँको हरेक संरचना, सेवा र सामग्रीले पाहुनालाई प्रकृतिसँग पुनः जडान गराउनेछ,” उनले भने। “बगैँचा विचार, विश्राम र पुनर्जागरणको समिश्रण हो। यो सपना साकार पार्न बुवाको मार्गदर्शन र समर्थन निर्णायक रह्यो।” अंशुभरा ग्रुपले हस्पिटालिटी, रियल स्टेट, व्यवसायिक मल, अटोमोबाइल र कृषि क्षेत्रमा पनि लगानी गरिरहेको उनले जानकारी गराए।
रिसोर्टका विशेषता
बगैँचा रिसोर्ट एण्ड स्पामा १५० देखि ३५० अमेरिकी डलरसम्मका दरमा सुविधा सम्पन्न कोठाहरू उपलब्ध छन्। कुल ३२ वटा कोठा र ४ प्रकारका लक्जरी सुइटहरू (स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट, बगैँचा सुइट) छन्, जसमा सबैमा निजी बाल्कोनीसहित हरियालीको दृश्यावलोकन गर्न सकिन्छ।
रिसोर्टका विशेष आकर्षणहरूमध्ये: ‘टारो पूलसाइड बार’, ‘मरिच इन्डो-चाइनीज रेस्टुरेन्ट’ र ‘उमामी प्यान-एशियन रेस्टुरेन्ट’ छन्, जसले बहुराष्ट्रिय स्वाद अनुभव गराउने उद्देश्य राखेका छन्। यहाँ प्रयोग गरिने खाद्य सामग्री रिसोर्टकै अर्गानिक फार्मबाट ल्याइनेछ।
वातावरणमैत्री पहल
बगैँचाले शून्य प्लास्टिक नीति अंगालेको छ। काठ, ढुंगा, हस्तकला, महिला उद्यमीहरूको उत्पादन र राउटे समुदायका परम्परागत भाँडाकुँडाको प्रयोगमार्फत सांस्कृतिक संरक्षणमा समेत ध्यान दिइएको छ।
वर्षातको पानी संकलन, इलेक्ट्रिक सवारीसाधनको प्रयोग र स्थानीय जैविक विविधताको संरक्षणले रिसोर्टलाई वातावरणीय सचेततापूर्ण बनाएको छ। स्पा सेवामा पारम्परिक नेपाली उपचार, योग अभ्यास, सिङ्गिङ बाउल थेरापी र साउन्ड हेलिङ जस्ता ध्यानात्मक कार्यक्रम समावेश छन्। साथै, स्थानीय जडीबुटीबाट तयार गरिएको ‘बगैँचा विशेष चिया’ पाहुनाका लागि अद्वितीय अनुभव हुने विश्वास सञ्चालक थापाले व्यक्त गरे।
