पोखरामा फोहोरलाई मोहोर बनाउने अभियान, आरयू फेस्टको तयारी पूरा

Share:

पोखरा । फोहोरलाई उपयोगी बनाउँदै हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित पोखरामा पहिलोपटक ‘आरयू फेस्ट’ हुने भएको छ। फेस्टिवल यही साउन १६ र १७ गते बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा आयोजना हुनेछ। पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को प्राविधिक सहयोगमा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत फेस्ट आयोजना गरिँदैछ।

‘फोहोरलाई खजना (मोहोर)’ बनाउने मूलमन्त्रका साथ फेस्टले वातावरणमैत्री, नवप्रवर्तनशील र दिगो भविष्य निर्माणमा योगदान पुर्‍याउने पोखरा महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। उनले फेस्टलाई हरित अर्थतन्त्रतर्फको नवीनतम प्रयासको रूपमा व्याख्या गरे।

फेस्टका मुख्य आकर्षण:

-रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी

-फोहोरबाट उपयोगी वस्तु बनाउने प्राविधिक डेमो शो

-जलवायु, हरित उद्यम, दिगो पर्यटन र प्लास्टिक टु रोड प्रविधिमाथि संवाद

-दक्षिण कोरियाको चक्रीय अर्थतन्त्र अनुभव साझा

-युवाहरूका लागि सीपमूलक कार्यशाला र सार्वजनिक कला प्रदर्शनी

नगर प्रमुख आचार्यका अनुसार, हालसम्म परियोजनाअन्तर्गत पोखरामा १३६ सामुदायिक समूह गठन भइसकेका छन्। उनीहरूलाई आवश्यक प्रशिक्षण तथा सीप विकास दिइँदैछ। जिभिजेड सेन्टर निर्माण सम्पन्न भइसकेको छ भने नयाँबजारमा कोसेली घर निर्माण कार्य जारी छ।

KOICA ले परियोजनामा ९.८ मिलियन अमेरिकी डलर र UNDP ले ०.८७ मिलियन डलर सहयोग गरेको छ। परियोजनाबाट आगामी दुई वर्षभित्र ३ हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

फेस्टले विद्यार्थी, सर्जक, नीतिनिर्माता र नागरिकलाई सहकार्य र सिर्जनशीलताको साझा मञ्च प्रदान गर्ने आयोजकको विश्वास छ। पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने यात्रामा महानगरपालिकाले आम पोखरेलीलाई सहभागी हुन सार्वजनिक आह्वान गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: