
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले आफ्ना तीन प्रमुख भ्रातृसंस्थाहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। गण्डकी प्रदेश कांग्रेसको भ्रातृसंघ समन्वय विभागको प्रदेश कार्यालयमा बसेको नियमित बैठकले आगामी साउन २२ गते पोखरामा अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो।
विभागका संयोजक अजित क्षेत्रीका अनुसार, कार्यक्रममा नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूपू सैनिक संघको सहभागिता रहनेछ। यी संस्थाहरू र पार्टीको प्रदेश कार्यसमितिबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिए।
संयोजक क्षेत्रीका अनुसार कार्यक्रम संक्षिप्त, विषयकेन्द्रित र परिणाममुखी बनाइनेछ। “कार्यक्रममा विषयसँग सम्बन्धित ४० मिनेटको कार्यपत्र प्रस्तुत हुनेछ,” उनले बताए, “वक्ताहरूका लागि निश्चित समय तोकी कार्यक्रमलाई उपलब्धिमूलक बनाउने प्रयास हुनेछ।”
कार्यक्रममा ती तीनवटै भ्रातृसंस्थाका गण्डकी प्रदेशस्तरीय पदाधिकारी, कार्यसमिति सदस्यहरू, प्रदेशअन्तर्गतका जिल्ला सभापति वा प्रतिनिधिहरू तथा गण्डकीबाट पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको सहभागिता रहने जनाइएको छ।
