पोखरामा ‘आरयु फेस्ट २०२५’ : फोहोरमैला व्यवस्थापनबाट हरित समृद्धिको पाइला

Share:

पोखरा। “फोहोरलाई मोहर बनाउने” मन्त्रका साथ पोखराले हरित अर्थतन्त्रतर्फको यात्रा आरम्भ गरेको छ। कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) र संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को आर्थिक तथा प्राविधिक सहायतामा, पोखरा महानगरपालिकाले ‘आरयु फेस्ट २०२५’ को आयोजना गर्दै फोहोरबाट रोजगारी र उद्यमशीलता सिर्जना गर्ने अभियान थालेको हो।

फेस्टिभलको मूल उद्देश्य भनेको फोहोरको पुनः प्रयोग (रिसाइक्लिङ) र सदुपयोग (अपसाइक्लिङ) मार्फत चक्रीय अर्थतन्त्रको प्रवर्द्धन र हरित रोजगारी सिर्जना गर्नु हो।

नवीनतम प्रयासको थालनी

बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा सुरु भएको दुईदिने फेस्टिभलमा रिसाइक्लिङ-अपसाइक्लिङ उत्पादहरूको प्रदर्शनी, प्रत्यक्ष प्राविधिक प्रदर्शन, सिर्जनात्मक कार्यशाला, तथा वातावरण, पर्यटन र हरित उद्यमशीलता सम्बन्धी संवाद कार्यक्रमहरू समावेश छन्। साथै, दक्षिण कोरियाको सफलतामूलक अनुभवमा आधारित सत्रहरू पनि प्रस्तुत गरिएका छन्।

पोखरा महानगर प्रमुख धनराज आचार्यले फेस्टिवलले सिर्जनशीलता, नवप्रवर्तन र दिगोपनालाई एकै ठाउँमा ल्याएर पर्यावरणमैत्री भविष्य निर्माणमा योगदान दिने विश्वास व्यक्त गरे।

अन्तर्राष्ट्रिय सहकार्य र प्रतिबद्धता

कोइकाका नेपाल निर्देशक मोहेओन कोङ्ले फोहोर व्यवस्थापनको माध्यमबाट हजारौँ रोजगारी सिर्जना हुने र उद्यमशीलता विस्तार हुने बताएका छन्। साथै, उनले पोखरामा जलनसम्बन्धी उपचारका लागि सुविधासम्पन्न अस्पताल निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए।

युएनडिपी प्रतिनिधि जुलियन चेभीलार्डले पुनःप्रयोग गरिएका सामग्रीको बजार सम्भावना उल्लेख गर्दै यसले महिला तथा सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणमा सहयोग पुर्‍याउने बताए।

दिगो विकासतर्फको कदम

नेपाल सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले साझेदार संस्थाहरूको सहयोगमा दिगो रोजगारी र उद्यमशीलता विकासका कार्यक्रमहरूलाई अघि बढाइरहेको जानकारी दिए।

हालसम्म परियोजनाले १३६ वटा सामुदायिक समूहलाई तालिम प्रदान गरिसकेको छ। ‘ग्रिन भेन्चर जोन (GVZ)’ निर्माण भइसकेको छ भने नयाँबजारस्थित कोसेली घरको निर्माण कार्य पनि अघि बढेको छ। आगामी दुई वर्षभित्र तीन हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको परियोजनामा कोइकाबाट ९.८ मिलियन र युएनडिपीबाट ०.८७ मिलियन अमेरिकी डलरको लगानी भएको छ।आ

रयु फेस्ट २०२५ लाई विद्यार्थी, उद्यमी, नीति निर्माता र सर्वसाधारणका लागि सहकार्य, नवप्रवर्तन र सकारात्मक परिवर्तनको साझा मञ्च बनाउने अपेक्षा गरिएको छ। पोखरा महानगरपालिकाले सम्पूर्ण पोखरेलीलाई अभियानमा साथ दिन आह्वान गर्दै, पोखरालाई हरित, दिगो र स्मार्ट सहरको रूपमा स्थापित गर्ने उद्देश्य राखेको छ।

कमेन्ट गर्नुहोस्
Share: