
पोखरा । पोखरा महानगरपालिका वडा नं ११ स्थित पवित्र पर्यटकीय क्षेत्र काहुँ डाँडा धरहरा परिसरमा आज लालीगुराँस वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। गुराँस फुलाऔं, पर्यटक बोलाऔं -हाम्रो अभियान, आगन्तुकको प्रोत्साहनू भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा ५५ वटा लालीगुराँसका बिरुवा रोपिएको छ।
धारापानी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा हट फर अर्थ फाउन्डेसन, लायन्स क्लब अफ मर्दी हिमाल, र वैदेशिक रोजगार शाखा संरक्षण संघ कास्कीको सहकार्य रहेको थियो। वृक्षारोपण अभियान अभियन्ता ढाकाराम लामिछानेको सक्रिय पहलमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडा नं ११ का जनप्रतिनिधि विष्णुप्रसाद घिमिरे थिए। विशेष अतिथिका रूपमा गण्डकी प्रदेश वैदेशिक रोजगार शाखा संरक्षण संघका अध्यक्ष सुजन श्रेष्ठ, सामुदायिक वन समितिका अध्यक्ष कुमार क्षेत्री, हट फर अर्थका अध्यक्ष पवन पाठक र लायन्स क्लब अफ मर्दी हिमालका अध्यक्ष रमेश कुमार गुप्ता लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा रोपिएका लालीगुराँसका बिरुवाको संरक्षण तथा सम्वर्द्धनको जिम्मेवारी धारापानी सामुदायिक वन उपभोक्ता समितिले लिने बताइएको छ। आयोजकहरूका अनुसार यस वृक्षारोपण अभियानले वातावरण संरक्षणमा योगदान दिने मात्र होइन, काहुँ डाँडालाई थप पर्यटकीय आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
