
पोखरा । पर्यटकीय नगरी पोखरामा लागू औषधको कारोबारमा संलग्न एक ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले पोखरा-१७, बिरौटाबाट ठूलो परिमाणमा लागू औषधसहित दुई महिला र एक पुरुषलाई रंगेहात पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार साँझ करिब ७:४५ बजे बिरौटा क्षेत्रमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीको संयुक्त टोली परिचालित भएको थियो ।
प्रहरीले उक्त सूचनाको आधारमा छापा मार्दा स्याङ्जा स्थायी घर भई हाल पोखरा-१७ बिरौटा, घारीकुलोमा डेरा गरी बस्ने ३२ वर्षीया रिना थापा मगर, स्याङ्जाकै फेदीखोला घर भई हाल बिरौटामै बस्ने ३४ वर्षीय विश्वास गुरुङ र पर्वत घर भई बिरौटामै बस्ने ३९ वर्षीया मिना थापा मल्ललाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले डेरा गरी बस्ने कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम १६६ एम्पुल, फेनेरागन १६९ एम्पुल र नुर्फिन १६६ एम्पुल गरी कुल ५०१ एम्पुल प्रतिबन्धित लागू औषध बरामद भएको छ । प्रहरीले उनीहरुको साथबाट कारोबारमा प्रयोग भएको आशंकामा ३ थान मोबाइल समेत बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले यो गिरोहले लामो समयदेखि पोखरामा लागू औषधको कारोबार गरिरहेको हुन सक्ने र यसको सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो सफलताले पोखरामा लागू औषधको अवैध कारोबार नियन्त्रण गर्ने प्रहरी अभियानमा ठूलो सफलता मिलेको छ ।
