
पोखरा। पोखरा महानगरपालिका-३३, आँपुभन्ज्याङस्थित कालिका माविमा भित्तेपत्रिका विमोचन गरिएको छ।
विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले पत्रिकाको विमोचन गर्दै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि भित्तेपत्रिकाले महŒवपूर्ण सहयोग गर्ने धारणा राखे।
आफूले पढ्दा यस्तो वातावरण नपाएको स्मरण गर्दै विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका अध्यक्ष पुनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि हाल विद्यालयले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । उनले विद्यालयको हितका लागि आफू सधैँ लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
कालिका बाल क्लबद्वारा प्रकाशित पत्रिका हालका लागि मासिक रूपमा प्रकाशन गरिने विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले जानकारी दिए। पत्रिकाको सम्पादन मण्डलमा सफला सुनार, मन्जिता गुरुङ र कृतिका केसी रहेका छन्।
सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई अध्यक्ष पुन र आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेलले पुरस्कार वितरण गरेका थिए।
