
पोखरा। पोखराको रामघाटस्थित गीता मन्दिरको व्यवस्थापन गर्दै आएको गीता अध्ययन मण्डलको ४६औँ साधारण सभा तथा ३८औँ अधिवेशनले डा. प्रेमप्रसाद उलकको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनले चार करोडको लागतमा तीर्थयात्री तथा बिरामी कुरुवाका लागि ‘गीता आश्रम’ निर्माण गर्ने महत्त्वाकाङ्क्षी परियोजनालाई मुख्य एजेन्डाका रूपमा अघि बढाएको छ।
अधिवेशनबाट डा. उलक निर्विरोध अध्यक्षमा चयन भएका छन्। नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा वजिरमान श्रेष्ठ, उपाध्यक्षमा प्रेमप्रसाद कर्माचार्य, सचिवमा शिवप्रसाद गौतम, सहसचिवमा पुष्प गौतम र कोषाध्यक्षमा शंकर गौतम चयन भएका हुन्। त्यसैगरी, सदस्यहरूमा ऋषिराम सापकोटा, रामबहादुर केसी, कृष्ण केसी, पवन गौतम, मीना गिरी, लक्ष्मी तिमल्सिना र प्रेमप्रसाद गौतम रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष डा. उलकले संस्थाको भावी कार्ययोजना प्रस्तुत गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामीका कुरुवा र देश-विदेशबाट आउने तीर्थयात्रीका लागि सुविधासम्पन्न ‘गीता आश्रम’ निर्माणको डीपीआर तयार भइसकेको जानकारी दिए।
परियोजनाका लागि पोखरा महानगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी संस्थाका नवनिर्वाचित उपाध्यक्ष तथा पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले दिए। उनले प्रदेश सरकारले पनि आगामी वर्ष बजेट छुट्याउने आश्वासन दिएको बताए।
यसैबीच, मन्दिरका संस्थापक डासु पण्डितका छोरा कृष्णप्रसाद आचार्यले करिब चार करोड लागत अनुमान गरिएको आश्रम निर्माणको २० प्रतिशत खर्च आफूले व्यहोर्ने घोषणा गरेको छ।
कार्यक्रममा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीले रामघाट र गीताको पवित्रतालाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए। यसअघि, डा. उलकले संस्थाको वार्षिक प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष कर्माचार्यले आर्थिक प्रतिवेदन तथा निवर्तमान सचिव पवन गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए।
कार्यक्रममा संस्थालाई योगदान पुऱ्याउने ज्योति गुरुङ, लीलाधर आचार्य र पूर्वअध्यक्ष तोयानाथ गौतमलाई सम्मान गरिएको थियो। रवीन्द्र माकाजु, अनिता तिमल्सिना, दीपकबहादुर थापालगायतले शुभकामना मन्तव्य दिएका थिए।
डा. प्रेमप्रसाद उलकको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव पवन गौतमले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष वजिरमान श्रेष्ठले राखेका थिए। कार्यक्रमको अन्त्यमा, निर्वाचन संयोजक शालिकराम भट्टराईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका थिए।
