
पोखरा। नेपाल प्रेस युनियन कास्कीले नयाँ सदस्य थप गर्ने र पुराना सदस्यलाई सक्रिय तथा व्यवस्थित बनाउने उद्देश्यसहित सय दिने सदस्यता अभियान सुरु गरेको छ। साउन १५ गतेदेखि सुरु भएको अभियानको कास्कीमा औपचारिक शुभारम्भ युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थितिमा गरिएको हो।
अभियानको प्रारम्भमा अध्यक्ष लम्सालले कास्कीमा क्रियाशील पत्रकारहरू विमलप्रसाद तिवारी (रुपन्देहीबाट स्थानान्तरण), सागर ढकाल, भानुभक्त पाण्डे, रिदेश सुनार, सुजन पौडेल र विनोद पहारीलाई सदस्यता वितरण गर्दै अभियानको सुरुवात गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले पत्रकारहरूको आर्थिक, सामाजिक सशक्तीकरण तथा व्यावसायिक सुरक्षा सुनिश्चित गर्न युनियनको सक्रिय नेतृत्व रहने स्पष्ट पारे।
उनले भने, “प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा प्रेस युनियन सधैँ अग्रमोर्चामा रहँदै आएको छ।”
अध्यक्ष लम्सालले नेपाल पत्रकार महासंघको विगतको शुद्धिकरण अभियानप्रति संकेत गर्दै प्रेस युनियनले सदस्यहरुलाई असहज नपार्ने गरी सुधारको बाटो रोजेको बताए।
“हामी कसैलाई नछेक्ने, नरोकेर स्वस्फूर्त रूपमा पत्रकारितामा आवद्ध साथीहरूसँग अघि बढ्ने उद्देश्यले यो अभियान सुरु गरेका हौं,” उनले प्रस्ट पारे।
उनका अनुसार, यो अभियान पत्रकारिताबाट अलग भएर पार्टी राजनीतिमा लाग्न चाहने, वा प्रेस युनियन छाड्न चाहने सदस्यहरूलाई व्यवस्थित रूपमा समायोजन गर्न समेत लक्षित गरिएको छ।
साथै, युनियनले मंसिर दोस्रो हप्तासम्म विधान सभा गर्ने तयारी गरिरहेको र सदस्यता अभियानले त्यसमा समेत सहयोग गर्ने अध्यक्ष लम्सालले जानकारी दिए। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) मा आवद्ध हुनका लागि भइरहेका प्रयास अन्तर्गत, चाँडै प्रेस युनियनका सदस्यहरूलाई IFJ को आधिकारिक परिचयपत्र प्रदान गरिने उनले बताए।
कार्यक्रममा प्रेस युनियन कास्की अध्यक्ष बासु मिश्रले कास्कीमा सदस्यता अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने बताए। गण्डकी प्रदेशमा बागलुङबाट सुरु भएको अभियानलाई अब पर्वत र कास्की जिल्लामा समेत विस्तार गरिएको हो।
