पूर्वतिर भन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय, दिउँसो यी स्थानमा हुनेछ भारी वर्षा

Share:

काठमाडौं। देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा अहिले बिहान पनि काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २९, बिहीबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराईआसपास र पूर्व तराईभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी सक्रिय रहने देखिएको मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) र देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईलगायत देशको पहाड भेगका केही स्थान र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : पहाडमा साधारणतया बदली र देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाड तथा तराईलगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका केही स्थान र मधेस प्रदेशलगायत बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

कमेन्ट गर्नुहोस्
Share: