विन्ध्यवासिनी माविमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Share:

पोखरा महानगर -१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका शैक्षिक उपलब्धि (२०८१) र अतिरिक्त क्रियाकलाप (२०८२) तर्फ उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो। उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयका कानुनी सल्लाहकार तथा बार एसोसिएसन उच्च अदालत पोखराका अध्यक्ष शालिग्राम भट्टराई र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले पुरस्कार वितरण  गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आजका बालबालिकाहरू नै भोलिका राष्ट्र निर्माता भएको उल्लेख गर्दै, उनीहरूलाई सक्षम बनाउन गुणस्तरीय र मूल्य-आधारित शिक्षाको खाँचो रहेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र प्रथामिक तह इञ्चार्ज गोविन्द शर्मा पौडेलले विद्यालयले बालमैत्री र विद्यार्थी-केन्द्रित सिकाइमा जोड दिँदै आएको उल्लेख गरे।

साथै, कार्यक्रम संयोजक समेत रहेका  पौडेलले यस्ता कार्यक्रमहरूलाई आगामी शैक्षिक वर्षमा पनि निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रमका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक उमा पराजुलीले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: