
पोखरा। जबरजस्ती करणी तथा बालबालिका विरुद्धको अपराधमा संलग्न एक जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका ती व्यक्ति आफ्नै नातामा पर्ने दुई जना बालिकामाथि यौन दुर्व्यवहार र करणी जस्तो गम्भीर अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।
विद्युतीय माध्यमको प्रयोग गरी अश्लील सामग्री राखिएकोबारे साइबर ब्यूरो, नेपाल प्रहरी, काठमाडौंबाट प्राप्त सूचना र कागजातका आधारमा अनुसन्धान गर्दा ती व्यक्तिले एक नातेदार बालिकालाई जबरजस्ती करणी गरेको र अर्की बालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको हो। पक्राउ पर्ने व्यक्तिको नाम खुलाएको छैन् ।
ती दुबै घटनाको भिडियोहरू उनले आफ्नो मोबाइलमा सेभ गरेर राखेको समेत प्रहरीले जनाएको छ।घटनासँग सम्बन्धित प्रमाणसहित आरोपीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत साउन ३० गते पक्राउ गरी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आरोपीलाई जवरजस्ती करणी, बालबालिकाविरुद्धको कसूर तथा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ। हाल कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ। प्रहरीले यस प्रकारका गम्भीर सामाजिक अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध कडा निगरानी तथा कानुनी प्रक्रिया जारी रहेको स्पष्ट पारेको छ।
