पोखरामा ट्रेकिङ गाइड र पोटर गाइड तालिम सम्पन्न, २८१ जनालाई प्रमाणपत्र वितरण

Share:

पोखरा। ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा सञ्चालित ट्रेकिङ गाइड तथा ट्रेकिङ पोटर गाइड तालिमको समापन भएको छ। करिब एक महिना सञ्चालन भएको तालिमको समापन कार्यक्रममा २२१ जना ट्रेकिङ गाइड र ६० जना पोटर गाइडलाई प्रमाणपत्र प्रदान गरिएको हो।

मंगलबार पोखरामा आयोजित समापन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता उल्लेख गर्दै, ट्रेकिङ गाइड तथा पोटर गाइडहरू नेपालको प्रवर्द्धनमा ‘राजदूत’को भूमिकामा रहेको बताए। उनले ट्रेकिङ रुटहरू मासिँदै गएकाले वैकल्पिक रुट निर्माणका लागि सरकारले बजेटको व्यवस्था गरेको जानकारी पनि दिए।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले तालिमपछि दक्ष जनशक्ति बजारमा आउनु सकारात्मक पक्ष भएको बताए। प्रदेश राजधानीको हैसियतले गण्डकीमा पर्यटन क्षेत्रलाई थप सबल बनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले मासिँदै गएका ट्रेकिङ रुटहरूलाई पुनः पहिचान गर्दै नयाँ गन्तव्य विकास गर्नु पर्ने आवश्यकता औंल्याए।

तालिम नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) को सहकार्यमा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा गत जेठ २६ गतेदेखि पोखरा–६ स्थित ताल बाराही माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको संख्या बढेसँगै पदयात्राका लागि दक्ष जनशक्तिको माग बढेको बताए। नाथुमका विभागीय प्रमुख अजय ढकालले तालिमले गण्डकी प्रदेशको पदयात्रा व्यवसायलाई थप परिस्कृत बनाएको र सक्षम गाइडहरूले पर्यटकलाई सरल ढंगले नेपालको विषयमा बुझाउन सक्ने विश्वास व्यक्त गरे।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ट्रेकिङमा जाने पर्यटकका लागि अनिवार्य ट्रेकिङ गाइडको व्यवस्था लागू गर्न सरकारको ध्यानाकर्षण गराउँदै पदयात्राका लागि आवश्यक सेल्टरहरू स्थापना गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

प्रशिक्षार्थी इन्द्रबहादुर राईले तालिमले पर्यटन क्षेत्रमा थप योगदान गर्ने हौसला प्रदान गरेको बताए। कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, टान गण्डकीका पूर्वअध्यक्ष डम्बरबहादुर केसी, प्रथम उपाध्यक्ष तिर्थराज सुवेदी, नाथुमका तालिम अधिकृत रतन साउद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपाने लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: