गण्डकी प्रदेशसभा भवनको शिलान्यास, २५ करोड लागतमा ३ तले भवन बन्ने

Share:

पोखरा। गण्डकी प्रदेशमा आठ वर्षपछि स्थायी प्रदेशसभा भवन निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मंगलबार पोखरामा प्रदेशसभा भवनको शिलान्यास गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन्।

नयाँ भवन पोखरा महानगरपालिका-३, नदीपुरस्थित हालको अस्थायी कार्यलयको पश्चिमतर्फ निर्माण गरिनेछ। भवन निर्माणका लागि २५ करोड ३७ लाख ८२ हजार ८६१ रुपैयाँको लागत अनुमान गरिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहरी विकास तथा भवन कार्यालय, कास्कीले तयार पारेको हो।

गण्डकी प्रदेशसभा सचिव हरिराज पोखरेलका अनुसार भवन निर्माणको जिम्मा श्रेष्ठ एन्ड सन्सरइस्ट वेस्ट जेभी, काठमाडौं ले पाएको छ। सो निर्माण कम्पनीले डीपीआरमा उल्लेखित लागत ४४ करोड ९९ लाख ६० हजार ३७६ रुपैयाँभन्दा ३२.४१ प्रतिशत कम दरमा ठेक्का लिएको हो।

सहरी विकास तथा भवन कार्यालय, कास्कीका प्रमुख ओमराज ढुंगानाका अनुसार २०८१ साल माघ १८ गते भवन निर्माणको सम्झौता भइसकेको थियो र हालसम्म सतहमुनिको तयारी तथा भौतिक काम सम्पन्न भइसकेको छ।

नयाँ प्रदेशसभा भवन ३ तले हुनेछ। भवन निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेश सरकारको कार्य सम्पादनमा थप सहजता आउने, प्रशासनिक स्थायित्व कायम हुने र संसदीय अभ्यासलाई संस्थागत गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: