प्रचण्डद्वारा पोखरामा ऐतिहासिक टुडिखेल तीज महोत्सव २०८२ उद्घाटन, तीजलाई मौलिकतासहित मनाउन आग्रह

Share:

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीज पर्व नेपाली महिलाहरूको सम्मानको पर्व भएको बताएका छन्। पोखरा महानगरपालिका-१ स्थित सराङकोट टुडिखेलमा सुरु भएको तेस्रो संस्करणको ऐतिहासिक टुडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गर्दै उनले “हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नारासहित संस्कृति संरक्षणमा जोड दिए।

महोत्सव इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा र विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीको मुख्य प्रायोजनमा आयोजना गरिएको हो। १५ भदौसम्म चल्ने महोत्सवमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा सामाजिक गतिविधिहरू हुनेछन्।

प्रचण्डले तीजलाई भड्किलो नभई मौलिक रूपमा मनाउनुपर्नेमा जोड दिँदै भने, “तीज नेपाली महिलाहरूको आत्मसम्मान, सशक्तिकरण र सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। यसलाई मौलिकता र परम्पराको संरक्षण गर्दै मनाउनु आवश्यक छ।”

उनले पोखराको सराङकोट टुडिखेललाई ऐतिहासिक र गौरवशाली स्थानका रूपमा चिनाउँदै स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

सामाजिक न्याय र समृद्धिको अभियान

फरक प्रसंगमा बोल्दै प्रचण्डले सबै किसिमका सामाजिक विभेद, कुशासन र आर्थिक पछाडि परेकाहरूमाथि अन्त्य गरी सामाजिक न्याय र आर्थिक समृद्धिको नयाँ अभियान अघि बढेको बताए। “समाजलाई विभाजित होइन, एकीकृत मनोविज्ञानले जोड्न यस्ता कार्यक्रमहरू सकारात्मक प्रभाव पार्नेछन्,” उनले भने।

सांस्कृतिक झाँकीसहितको र्यालीस् उद्घाटन समारोहमा विभिन्न संघसंस्था, आमा समूह, विद्यालय, जातीय समूहहरूको झाँकीसहितको र्याली टुडिखेलमै समापन भएको थियो। १५० व्यापारिक स्टलहरू, १२ रेष्टुराँ स्टलहरू, बालउद्यान र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति महोत्सवभर रहने आयोजक अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: