
बागलुङ । नेकपा (एमाले) बागलुङले आसन्न विधान महाधिवेशनका लागि सुझाव संकलन गरेको छ। जिल्लास्तरीय बैठकमा सहभागी १५० जना नेता तथा कार्यकर्तामध्ये ५० जनाले महाधिवेशनमा प्रस्तुत गरिने विषयमा आफ्ना सुझावहरू राखेका थिए। उनीहरूले पार्टीको स्थायित्व, संविधानको रक्षा, र नीतिगत स्पष्टतामा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन्।
कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले पार्टीको नीति र नेतृत्वमा स्थायित्व भएमा मात्र देशमा विकास सम्भव हुने उल्लेख गरे। “छिटोछिटो फेरिने संविधान र नेतृत्वले देशलाई सही दिशामा अघि बढाउन सक्दैन,” उनले भने ।
नेता गुरुङले माक्सवाद र लेलिनवादजस्तै नीतिगत स्पष्टता र विधिको स्थायित्व आवश्यक भएको बताउँदै थपे , “नीति र विधिमा स्थायित्व आएपछि नेतृत्वमा पनि स्थायित्व आउँछ, जसले गर्दा राजनीतिक स्थायित्व कायम हुन्छ, र राजनीतिक स्थायित्वबाट मात्र मुलुक समृद्ध बन्न सक्छ।”
उनले बारम्बार संविधान र नीति परिवर्तन गर्नु राम्रो परिपाटी नभएको बताए। “लहै-लहैको आधारमा संविधान र विधि बदल्न खोज्नु गलत हो,” उनले भने, “गम्भीर अध्ययन र त्यसका दीर्घकालीन प्रभावहरू विश्लेषण गरेर मात्र परिवर्तनको विषय उठाइनु पर्छ।”
राजनीतिक स्थायित्वविना देशले दीर्घकालीन सफलता हासिल गर्न नसक्ने उल्लेख गर्दै गुरुङले नेपालमा भइरहेको राजनीतिक अस्थिरताले विकासमा अवरोध सिर्जना गरिरहेको बताए।
विधान महाधिवेशनलाई धेरै परिवर्तन गर्ने थलो नभइ स्थायित्वमा केन्द्रित बनाइने पनि उनको भनाइ थियो। अमेरिका र भारतको स्थायी संविधानको उदाहरण दिँदै उनले नेपालमा पनि स्थायित्वमुखी संविधान निर्माण गर्नुपर्नेमा जोड दिए। साथै, व्यवस्थापिका संसदको प्रमुख कार्य कानुन निर्माण भए तापनि नेपालको राजनीतिक संस्कार गलत दिशामा गएकाले सचेत नागरिकले कानुन निर्माणमा सक्रिय सहभागिता जनाउनु पर्ने उनको धारणा थियो।
विधान महाधिवेशनमा वर्तमान पार्टी नेतृत्व सम्बन्धी दुई कार्यकाल र ७० वर्षे उमेर सिमालाई संशोधन गरी “प्राकृतिक छनोट”को आधारमा नेतृत्व चयन गर्नुपर्ने विषयमा छलफल हुने उनले जानकारी दिए। “केवल उमेरको आधारमा नेतृत्व छनोट गर्नु उपयुक्त होइन,” भन्दै उमेर हदको व्यवस्था हटाउने सम्भावना पनि औंल्याए।
कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज मनकुमारी केसीले एमालेलाई थप सशक्त पार्टीका रूपमा अगाडि बढाउन जनताबाट सुझाव संकलन सुरु गरिएको बताए।कार्यक्रम नेकपा (एमाले) बागलुङका अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता, उपाध्यक्ष विष्णु भुषालको स्वागत मन्तव्य, र उपसचिव धन बहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो।
