
पोखरा। पोखरा महानगरपालिका-१३, आर्वामा अवस्थित रतन पाण्डे युवा क्लबले आयोजना गर्न लागेको खुला तीज गीत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। हरितालिका तीजको अवसरमा नेपाली नारीको परम्परागत सांस्कृतिक पर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले मंगलबार (आज) स्थानीय छापाको चौतारामा १८औं संस्करणको तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो।
क्लबका अध्यक्ष विजय सुनारका अनुसार परम्परागत संस्कृतिको जगेर्ना गर्ने हेतुले क्लबले विगतदेखि नै यस्तो कार्यक्रम गर्दै आएको छ। क्लबका सन्दीप बरालले प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा यस क्षेत्रका विभिन्न समूहले सहभागिता जनाउने छन्। समुहगत रूपमा सञ्चालन हुने प्रतियोगितामा विजेता टोलिलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। कार्यक्रममा स्थानीय कलाकार कृष्ण प्रसाद गौतम लगायतको सांस्कृतिक प्रस्तुति समेत रहने क्लबले जानकारी दिएको छ।
