पोखरामा तेस्रो तीज सांस्कृतिक महोत्सव, महिला सशक्तीकरण र संस्कृति प्रवर्द्धनमा जोड

Share:

पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा मंगलबारदेखि ‘तेस्रो तीज सांस्कृतिक महोत्सव-२०८२’ मनाएको छ। हरितालिका तीजको अवसरमा सुरु भएको उक्त महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गरे।

उद्घाटन समारोहमा मन्त्री थापाले संस्कृति संरक्षणमा यस्ता महोत्सवहरू महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा गण्डकी प्रदेश सांसद प्रकाश बराल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका-२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कलाकार हरिदेवी कोइराला, महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ललगायतले सभ्य र अनुशासित रूपमा तीज मनाउनुपर्नेमा जोड दिए।

टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले परम्परागत रूपमा चौरमा बसेर तीज गीत गाउने चलन हराउँदै गएको अवस्थामा सो परम्पराको पुनर्जागरणका लागि महोत्सव आयोजना गरिएको बताइन्। महासचिव शोभा अधिकारी पौडेलले पर्वलाई महिला सशक्तीकरणसँग जोड्नु नै महोत्सवको मुख्य उद्देश्य भएको जानकारी दिइन्।

उद्घाटन अघि हल्लनचोकबाट बाजागाजासहित झाँकी र्‍याली निकालिएको थियो, जुन बाराहीघाट पुगेर औपचारिक समारोहमा परिणत भएको थियो।

मंगलबारदेखि सुरु भएको तीज गीत प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनसँग जोडिएका तीज गीतहरू प्रस्तुत गरेका छन्। फेवाताल संरक्षण, पर्यटकीय स्थलको प्रवर्द्धन, पर्यटनमा महिलाको सहभागिता र महिला सशक्तीकरण लगायतका विषयवस्तु गीतमार्फत उजागर गरिएको थियो।

महोत्सव संयोजक शान्ता सुवेदी तिमिल्सिनाका अनुसार बुधबार पनि तीज गीत प्रतियोगिता निरन्तर रहनेछ। त्यस्तै, रस्साकसी, घैंटो फुटाउने, साडी दौडजस्ता रमाइला खेलकुद कार्यक्रम र महिला सशक्तीकरणसम्बन्धी दुईवटा टक-सो (संवाद कार्यक्रम) समेत आयोजना गरिनेछ।

तीज गीत प्रतियोगितामा प्रथम हुने समूहले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार रुपैयाँ र १० वटा समूहलाई सान्त्वना स्वरूप जनही ४ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट नृत्य प्रस्तुति गर्ने समूहलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको अन्तर्राष्ट्रिय पहिचान दिलाउन सहयोग पुग्ने बताइन्। साथै, सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवर्द्धनका नयाँ ढोका खोल्न महोत्सवले सहयोग गर्ने उनको भनाइ थियो।

महोत्सवकै अवसरमा ‘सेलरोटी पकाउने प्रतियोगिता’ समेत आयोजना गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: