पोखराको टुंडिखेलमा तीज महोत्सवको रौनक, एकल नृत्यदेखि छेलो हान्नेसम्मको प्रतिस्पर्धा

Share:

पोखरा । पोखराको परानो टुंडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सव २०८२ अन्तर्गत मंगलबार एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान- लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका वडा नं. १ टुंडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा र विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीको मुख्य प्रायोजनमा महोत्सव आयोजना गरिएको हो।

महोत्सव अन्तर्गत बुधबार छेलो हान्ने प्रतियोगिता हुने केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो। एकल नृत्य र छेलो हान्ने प्रतियोगिताका विजेताहरूले क्रमश:

प्रथमले नगद १२,५५५ रुपैयाँ, द्वितीयले ७,५५५ रुपैयाँ तथा तृतीयले ५,५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। यसैगरी महोत्सवमा कलाकारहरू प्रजापति पराजुली, जीवन दाहाल, प्रेमराज अधिकारी, नविन पौडेल, तारापति सुवेदी, सरला पाण्डे, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, टेक क्षेत्री, इन्द्रा गुरुङ, अम्बिका भण्डारी, सन्दिप क्षेत्री लगायतले आ-आफ्नो प्रस्तुति राख्ने कार्यक्रम रहेको छ।

महोत्सव अन्तर्गत सोमबारदेखि सुरु भएको ढिकी-जाँतो प्रतियोगिता पनि जारी छ। प्रतियोगितामा पाँचजनाको एक समूह रहनेछ। आयोजकले सहभागीहरूलाई एक पाथी धान दिनेछन्, जसलाई ढिकीमा कुटेर भुस र चामल छुट्याएर जाँतोमा पिसी पिठो बनाउनुपर्नेछ। यसका लागि २५ मिनेटको समय दिइनेछ। जसले बढी पिठो तयार पार्छ, त्यो समूह विजेता हुनेछ।

यस प्रतियोगितामा पनि प्रथम समूहलाई १२,५५५ रुपैयाँ, द्वितीयलाई ७,५५५ रुपैयाँ तथा तृतीयलाई ५,५५५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, आइतबारदेखि सुरु भएको तीज गीत प्रतियोगिता पनि जारी रहेको छ। मंगलबारसम्म ११ टोलीले भाग लिएका छन्। प्रतियोगिता बुधबारसम्म चल्नेछ। तीज गीत प्रतियोगितामा प्रथम हुने टोलीले ३५,५५५ रुपैयाँ, द्वितीयले २०,५५५ रुपैयाँ, तृतीयले १०,५५५ रुपैयाँ तथा सान्त्वनाले ५,५५५ रुपैयाँ उत्कृष्ट भेषभूषा र नृत्यतर्फ ३,५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक डिल्लीराम सुवेदीले जानकारी दिए।

महोत्सव सम्पन्न गर्न टुंडिखेल बियरले सह-प्रायोजन, गृहलक्ष्मी ग्यास र कर्मा इन्टरनेसनल इम्प्लोयमेन्ट प्रालि काठमाडौंले उप-प्रायोजन गरेका छन्। त्यस्तै, बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैंक, सालीको इन्स्योरेन्सले प्रायोजन गरेका छन् भने राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग गरेको छ।

महोत्सवलाई सामाजिक विकास तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, र पोखरा १, २, ३ वडा कार्यालयले प्रवर्द्धन गरेका छन्।

अन्य सहयोगीहरूमा गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्यूरोड पोखरा, गरिमा विकास बैंक, गौतम स्याङ्जा सुनचाँदी पसल चिप्लेढुंगा, प्रतिभा माध्यमिक विद्यालय, पराजुली आयल स्टोर, कवँर हार्डवेयर, लान्द्रोक पेट्रोलियम प्रा.लि., पोखरा इन्टरनेट, निचि बेबी चिप्लेढुंगा रहेका छन्।

मंगलबारका प्रस्तुतिमा पुष्पा न्यौपाने, जीवन दाहाल, शंकर विरही गुरुङ, प्रेमराज अधिकारी, रेशरमण अधिकारी, परशुराम अधिकारी, प्रदिप तिवारी, चिना थापा मगर, रमा राना मगर, गंगा त्रिपाठी र कमेडियन दीपक थापा लगायतले सहभागिता जनाएका थिए।

कमेन्ट गर्नुहोस्
Share: