दीपशिखा पुस्तकालयद्वारा चित्रकला प्रतियोगिता सम्पन्न, अभिमन्यु पौडेल प्रथम

Share:

पोखरा । “हाम्रो पुस्तकालयः हाम्रो भविष्य” भन्ने आदर्श वाक्यका साथ पोखरा महानगरपालिका-२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयले १८ औं पुस्तकालय दिवसको अवसरमा शुक्रबार चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ।

पुस्तकालयले वर्षभरि नियमितरूपमा पुस्तकालयमा आउने बालपाठकहरूलाई सहभागी गराएर आयोजना गरिएको उक्त प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछि पार्दै अभिमन्यु पौडेलले प्रथम पुरस्कार जित्न सफल भएका छन्। उज्वल सुनार दोस्रो, सञ्जोग गुरुङ तेस्रो तथा अनिष्मा पौडेल र अर्पण सुनारले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

पुस्तकालय दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिने भएका छन्। शनिबार बिहान प्रभातफेरी तथा दिउँसो विद्यालयस्तरीय प्रतियोगितात्मक “भानुभक्तकृत रामायणका श्लोकको लयात्मक वाचन” कार्यक्रम हुने जनाइएको छ। यस्तै, भदौ १५ गते पुस्तकालय दिवसको दिन साँझ दीपावली कार्यक्रमका साथ सम्पूर्ण कार्यक्रमहरू सम्पन्न गरिने पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए।

पुरस्कार वितरण समारोहमा कोषाध्यक्ष माधव भण्डारी, कार्यक्रम संयोजक विष्णुहरि पौडेल, कार्यसमिति सदस्य मीनकुमारी डल्लाकोटी तथा कार्यालय प्रमुख धनु पहारीको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: