
पोखरा । पोखरा महानगरपालिका वडा नं. २९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयले १८ औं पुस्तकालय दिवसका अवसरमा प्रभातफेरी तथा भानुभक्तकृत रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ। पुस्तकालयबाट सुरु भएको प्रभातफेरीमा पुस्तकालयका पाठक, सामाजिक अभियन्ता, राजनीतिककर्मी लगायतको सहभागिता रहेको थियो।
प्रभातफेरी पश्चात आयोजित विशेष सभामा गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङले पठन संस्कृतिको प्रवर्द्धनका लागि पुस्तकालयको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा पुस्तकालय अध्यक्ष कृष्णहरि भण्डारीले पुस्तकालय सामाजिक सचेतनाको सेतुका रूपमा रहेको उल्लेख गर्दै पठनसंस्कृतिको विकासमा सामुदायिक पुस्तकालयको योगदानलाई विशेष महत्व दिनु पर्ने धारणा व्यक्त गरे।
अध्यक्ष भण्डारीको सभापतित्वमा तथा कार्यक्रम संयोजक विष्णुहरि पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकाल, पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेल, सामुदायिक पुस्तकालय संघ गण्डकी प्रदेशका अध्यक्ष माधव भण्डारीलगायतले पुस्तकालयको महत्त्वमाथि प्रकाश पारे।
पुस्तकालय दिवसकै अवसरमा आयोजित विद्यालयस्तरीय रामायण वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविकी जयन्ती आचार्य प्रथम, गोगन माध्यमिक विद्यालयकी सुजाता पौडेल द्वितीय, लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुलकी सुदिक्षा पौडेल तृतीय तथा रामज्योति माविकी स्वेच्छा परियारले सान्त्वना स्थान हासिल गरेकी छन्। ज्ञानज्योति विद्याकुञ्ज माविका सक्षम पौडेललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा विन्दुवासिनी संस्कृत विद्यापीठका पूर्व प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मी, त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल र पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी रहेका थिए।
कार्यक्रममा पुस्तकालय सचिव पदमप्रसाद अधिकारी, कार्यपालिका सदस्य निर्मला पौडेललगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक विष्णुहरि पौडेलका अनुसार पुस्तकालय दिवसको उपलक्ष्यमा भोलि साँझ दीपावली कार्यक्रम समेत आयोजना गरिनेछ।
