
कास्की। हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थानमा आयोजित हिमालयन सिद्ध महायोग ध्यानसाधना एवं चतुर्मास व्रतन-२०८२ को पावन अवसरमा नेपाल सरकारका पूर्व उपप्रधान तथा शिक्षामन्त्री श्री गोपालमान श्रेष्ठलाई विशेष सम्मान गरिएको छ।
श्री लक्ष्मीनारायण मन्दिर परिसरमा सम्पन्न भव्य समारोहमा अनन्त श्री विभूषित श्रीमज्जगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पावन सत्सङ्कल्पअनुसार श्रेष्ठलाई सम्मानपत्र, माला र दोसल्ला अर्पण गरी अभिनन्दन गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मन्तव्य राख्दै श्रेष्ठको शिक्षा सुधार, समाज सेवा, राजनीतिक स्थायित्व र राष्ट्रिय चेतनाको अभिवृद्धिमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे। उनले श्रेष्ठको सरल जीवनशैली, जनताप्रतिको सेवाभाव र राष्ट्र निर्माणमा देखाएको प्रतिबद्धता नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गरे।
त्यसैगरी, नेष्ट्रो नेपाल समृद्धि लघुवित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रसाद ठकुरीले महायोग ध्यान साधनाले आत्मशुद्धि, आत्म-उन्नति तथा आध्यात्मिक जागरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
उक्त अवसरमा चतुर्मास व्रतन र महायोग ध्यानसाधनाको आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे समेत विस्तृत चर्चा गरिएको थियो। वक्ताहरूले यस्तो साधनाले समाजमा सकारात्मक ऊर्जा, धार्मिक तथा सांस्कृतिक चेतना र सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
समारोहमा स्थानीय समाजसेवी, विभिन्न धार्मिक तथा सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू, प्रतिष्ठित व्यक्तित्व, श्रद्धालु भक्तजन तथा साधकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता आध्यात्मिक अनुष्ठानहरूले धार्मिक सहिष्णुता र मानव कल्याणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।
वैदिक परम्परा अनुसार, कार्यक्रमअन्तर्गत दैनिक रूपमा नवग्रह पूजन, रुद्राभिषेक तथा हवन सञ्चालन भइरहेका छन्। असार २७ गतेदेखि प्रारम्भ भएको चालु चतुर्मास व्रतन आगामी कार्तिक १५ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा सोह्र श्राद्धको अवसरमा पितृ यज्ञ, नवरात्रिमा दुर्गा सहस्रचण्डी यज्ञ र दीपावलीको अवसरमा महालक्ष्मी यज्ञ सम्पन्न गरिने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रमको संयोजन हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रका साधक रेशम खड्काले गरेका थिए।

