राष्ट्रपतिद्वारा नेपालको संविधान जारी, संविधानसभाको कार्यभार पूरा , व्यवस्थापिका संसदमा रुपान्तरित

Share:

३ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् । राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे ।

राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

राष्ट्रपतिले भने-सबै नेपाली र राष्ट्रको जय होस्

संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै नेपाली र राष्ट्रको जय होस् भन्ने कामना गरे । उनले सबै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन गरेका छन् ।

संविधानसभा बैठक सम्पन्न, व्यवस्थापिका संसदमा रुपान्तरित

नयाँ संविधान जारी भएसँगै संविधानसभाको कार्यभार पूरा भएको छ । सभामुख सुबास नेम्वाङले आइतबार संविधानसभाको बैठक सम्पन्न भएको घोषणा गरेका छन् ।
आइतबारदेखि लागू भएको नेपालको संविधान २०७१ को धारा २९६ मा बैठक सम्पन्न भएपछि संविधान व्यवस्थापिका संसदमा रुपान्तरित हुने व्यवस्था छ ।

यसअघि पनि यही संविधानसभाले व्यवस्थापिका संसदको भूमिका निर्वाह गर्दै आएको थियो । पहिलो संविधानसभा संविधान बनाउन नसकी बिघटन भएपछि २०७० मंसिर ४ गते दोस्रो संविधान सभाको निर्वाचन भएको थियो । संविधानसभाको आयु ६०७ दिनमा सकियो

पहिलो संविधानसभाले ४ वर्षमा संविधान दिन नसके पनि दोस्रो संविधानसभाले ६ सय ७ दिनमा संविधान दिएको छ ।संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार संविधानसभालाई गराएको जानकारीअनुसार संविधानसभाको कुल आयु ६०७ दिन रहेको छ । संविधानसभाको बैठक ०७० साल माघ ८ गते बुधबार प्रारम्भ भएको थियो । ०७२ साल असोज ३ गते आइतबार साँझ संविधानसभा आफ्नो काम फत्ते गरेर विघटन भएको छ । संविधानसभा अब व्यवस्थापिका संसदमा रुपान्तरित भएको छ ।

Rastrapati-swagat-5

सभाध्यक्ष नेम्वाङका अनुसार संविधानसभाको बैठक १३० दिनमा १३५ पटक बसेको थियो । समयको हिसाबले संविधानसभाको बैठकले जम्मा ३२८ घण्टा ४५ मीनेट संविधान लेखनको खास कार्यमा व्यतीत गरेको थियो ।

संविधान निर्माणका अधिकांश कार्य संविधानसभा अन्तरगत गठित संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति, संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति, संविधान मस्यौदा समिति नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिका बैठकहरुबाट सम्पन्न भई संविधानसभाको पूर्ण वैठकमा पेश भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: