मंगलबारदेखि जनकल्याण निमाविमा कमजोर विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन हुँदै

Share:

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका-१ मा रहेको जनकल्याण निम्न माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ। विद्यालय प्रशासनले कमजोर शैक्षिक उपलब्धि देखिएका कक्षाका विद्यार्थीहरूलाई लक्षित गर्दै अंग्रेजी, गणित र विज्ञान विषयमा अतिरिक्त कक्षा सञ्चालनको निर्णय गरेको हो।

विद्यालयकी प्रधानाध्यापक मिरा कुमारी पाख्रिनका अनुसार बालबालिकामा लजालु स्वभाव, कम बोल्ने प्रवृत्ति तथा आत्मविश्वासको कमी देखिएकाले उनीहरूको सामाजिक र मानसिक विकासलाई सघाउने उद्देश्यले पहिलो चरणमा अतिरिक्त कक्षा तथा सह-पाठ्यक्रम गतिविधि सुरु गर्न लागिएको हो।

उनले भनिन्, “शारीरिक, मानसिक र बौद्धिक विकासका लागि खेलकुद, चेतनामूलक तथा नैतिक कार्यक्रमहरू अत्यावश्यक छन्, जसले विद्यार्थीलाई स्फूर्त र अध्ययनमा केन्द्रित बनाउन मद्दत पुर्‍याउँछ।” अतिरिक्त कक्षा अन्तर्गत विद्यार्थीहरूका लागि हिज्जे प्रतियोगिता, वक्तृत्वकला, नृत्यकला, हाजिरीजवाफ, चित्रकला, हस्तकला, साहित्यिक कार्यक्रम, कविता तथा निबन्ध प्रतियोगिताजस्ता विविध कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ।

विद्यालयका सूचना अधिकारी धन बहादुर सुनुवारका अनुसार चार वटा छुट्टाछुट्टै अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने भएकाले प्रत्येक शिक्षकलाई विशेष जिम्मेवारी दिइएको छ। विद्यार्थीको सहभागिता सुनिश्चित गर्दै कक्षाहरू नियमित रूपमा सञ्चालन गरिनेछ।

स्टाफ बैठकबाट निर्णय पारित भइसकेकोले आउँदो मंगलबारदेखि अतिरिक्त कक्षा निःशुल्क रूपमा सुरु हुने विद्यालयले जनाएको छ। कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावकहरूको भूमिका पनि महत्वपूर्ण हुने बताउँदै सह-प्रधानाध्यापक प्रकाश जिपिले विद्यार्थीलाई दिउँसोको खाजा र शैक्षिक सामग्रीसहित नियमित विद्यालय पठाउन आग्रह गरेका छन् ।  शिक्षक, अभिभावक र विद्यार्थीको साझा प्रयासबाट विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार हुने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: