
पोखरा । स्वच्छ, हरित र दिगो सहर निर्माणको लक्ष्यसहित पोखरा महानगरपालिकामा मेगा वृक्षारोपण अभियान तीव्र रूपमा अघि बढिरहेको छ। नगर प्रमुख धनराज आचार्यका अनुसार यो अभियान “Green Pokhara, Clean Pokhara” अर्थात् हरित पोखरा, स्वच्छ पोखरा भन्ने अवधारणामा आधारित छ। सोमबार न्युरोड क्षेत्रको दायाँ-बायाँ खाली जमिनमा ‘एक घर, दुई बिरुवा’ अवधारणाअनुसार बिरुवा रोपिएको छ। नगर प्रमुख स्वयंको उपस्थिति र नेतृत्वमा भएको कार्यक्रममा विभिन्न १० प्रजातिका फूलका बिरुवाहरू रोपिएका छन्।
७०० किमीसम्मको सडक किनारमा हरियाली
महानगरका अनुसार ७०० किलोमिटर सडक र राजमार्ग, ६७ किलोमिटर खोला किनार, र १२५ हेक्टर खुला सार्वजनिक स्थलहरूमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू रोप्ने दीर्घकालीन लक्ष्य रहेको छ। यो योजना वन विज्ञान अध्ययन संस्थानको सुझावअनुसार तयार पारिएको हो। सहरी विकास, पर्यटन, वन तथा वातावरण महाशाखाका प्रमुख वरिष्ठ इन्जिनियर विमल रञ्जन कार्कीका अनुसार, कल्की, धुपी, वेगमवेली जस्ता शोभायमान फूलहरू न्युरोड क्षेत्रमा लगाइएका छन्।
नगरवासीलाई जिम्मेवारी लिने आह्वान
नगर प्रमुख आचार्यले कार्यक्रममा सहभागिता जनाउँदै भने, “घर वा पसल अगाडि रोपिएका बिरुवाहरूको गोडमेल, पानी रेखदेख नगरवासीको जिम्मेवारी हो। सहरको सौन्दर्य हामी सबैको हातमा छ।”
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले भने, “हराभरा पोखरा बनाउने महानगरपालिकाको अभियानमा नगरवासीको सक्रिय सहभागिता अनिवार्य छ। यस अभियानमा सबैको साथ, सहयोग र समर्पण चाहिन्छ।”
यी बिरुवा रोपिँदैछन् पोखरामा
महानगरले विज्ञको सुझावअनुसार पोखराको भू-स्वरूप, मौसम र माटो उपयुक्त हुने गरी तल उल्लेखित स्थानीय, औषधीय र सांस्कृतिक रूपमा महत्वपूर्ण बिरुवाहरू रोप्ने तयारी गरेको छ। जसमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोक, कल्कीफूल, गुलमोहर, बैँस, लालुपाते, कागजपाते, पालम, धुपी, बाँस, खयर, सिसौ, राजवृक्ष, रातोपाते, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरालगायत रहेका छन् ।
पोखरा अब हरियालीको नयाँ परिचय बन्दैछ। केवल बिरुवा रोप्ने होइन, त्यसको संरक्षण र पालनपोषणमा हरेक नागरिकको संलग्नता नै “हरित र समुन्नत पोखरा” को आधार बन्नेछ।



