मनाङ क्षेत्र नम्बर १ को  (२) मा उपनिर्वाचन : भदौ १९ देखि दल दर्ता सुरु हुने, आयोगको तयारी तीव्र

Share:

पोखरा। गण्डकी प्रदेशको मनाङ क्षेत्र नम्बर १ को  (२) मा रिक्त भएको प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचनको प्रक्रिया अघि बढेको छ। निर्वाचन आयोगले यही भदौ १९ गतेदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने जनाएको छ।

राजनीतिक दलहरूलाई भदौ १९ देखि २५ गतेसम्म दल दर्ताका लागि निवेदन पेस गर्न आह्वान गर्दै आयोगले सोमबार एक सूचना जारी गरेको छ। आयोगको केन्द्रीय कार्यालय, कान्तिपथमा कार्य समयभित्र दलले आवश्यक कागजातसहित निवेदन दर्ता गर्न सक्नेछन्।

दीपक मनाङे कारागार चलान भएपछि रिक्त पद

उक्त पद राजीव गुरुङ (दीपक मनाङे) को कारागार चलानपछि रिक्त भएको हो। उनी २०७४ सालमा मनाङ क्षेत्र नम्बर १ (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। ज्यान सम्बन्धी मुद्दामा दोषी ठहरिएपछि उनी हाल कारागारमा छन्। निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि राजनीतिक दलले आफ्नो संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालयको ठेगाना, सम्पर्क विवरण (फोन, इमेल, वेबसाइट, सामाजिक सञ्जाल), केन्द्रीय कार्यसमिति तथा प्रदेश–जिल्ला तहका पदाधिकारीको विवरण पेश गर्नुपर्नेछ।

त्यसैगरी, पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, दल दर्ता र उम्मेदवार मनोनयनका लागि अधिकार दिएको निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र दिने पदाधिकारीको विवरण र हस्ताक्षर नमुना, साथै संविधानको धारा २६९(४०) अनुसारको प्रतिबद्धता पत्र समेत आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ।

नयाँ गठन भएका वा एक आपसमा गाभिएका दलका हकमा आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा साविक दलहरूको विवरण समेत अनिवार्य गरिनेछ।

निर्वाचन आयोगले उपनिर्वाचन प्रक्रिया सफल रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइसकेको जनाएको छ। दलहरूलाई समयमै दर्ता प्रक्रिया पुरा गर्न आग्रह गरिएको छ। थप जानकारीका लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिनेछ।

कमेन्ट गर्नुहोस्
Share: